म्याग्दीको मंगला गाउँपालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेले २ लाख आर्थिक सहयोग गरेको छ । शुक्रबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना, वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, लेखा अधिकृत लेखनाथ लामिछाने लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको छ ।

मंगला–२ का पीडितलाई सहयोग हस्तान्तरण गदैं वडास्तरमै पुगेर पीडितलाई सहयोग उपलब्ध गराउन अध्यक्ष रोकाले बताए । ‘मोना यूकेको सहयोगबाट यसअगाडी पनि जिल्लामा धेरै काम भएको छ,‘विस्थापितको पुर्नवास सहितको अभियान समेत सुरु हुदैछ’ अध्यक्ष रोकाले भने ।

मोना यूकेमार्फत उपलब्ध गराइएको विवरण अनुसार वडा नं १ मा १ जना, वडा नं २ ६ जना, वडा नं ३ र ४ बरंजामा १२ जना र वडा नं ५ अर्मनमा ५३ जनालाई सहयोग हस्तान्तरण गरिने छ । जनप्रतिनिधिको उपस्थितिमा पीडितलाई दिइएको वितरण सहित मोना यूकेलाई धन्यवाद पत्र समेत पठाइने प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार हरिकृष्ण गौतमले गरेका थिए । म्याग्दीको मंगला, मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा समेत सहयोग हस्तान्तरण गरिने मोना यूकेका अध्यक्ष दल जुग्जालीले बताए ।