खाडी मुलुकको ६ देशमा करिब १५ बर्ष विताएका म्याग्दीको मंगला गाउँपालिका-५ अर्मनका राजेन्द्र भण्डारी पशुपालनमा रमाइरहेका छन् । खाडीका इरान बाहेक सबै देशमा पसिना बगाएर फर्किएका भण्डारीले करिब २० लाखको लगानीमा चितवनको भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा भण्डारी गाईभैसी कृषि फर्म सञ्चालन गरी मासिक राम्रो कमाइरहेका छन् ।

विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ स्वदेश फर्किएका भण्डारीले दैनिक ८० लिटर दुध विक्री गरी मासिक करिब १ लाख आम्दानी गर्ने गरेको बताए ।

‘पन्ध्रबर्ष खाडीमा बगाएको पसिनाबाट सन्तुष्टी मिलेन्,‘खाडीतिर भौतारिनुपर्ने समयमै गर्नुपर्ने ब्यवसाय अहिले सुरु गरेको छु’ भण्डारीले भने । उनले खाडीमा राम्रो कमाई हुने इराकमा समेत पुगेर फर्किएको बताउँदै खाडीको कमाईले घरखर्च चलेपनि सन्तुष्टी नमिलेको बताए ।

उनले पशुपालनसँगै कृषिमा समेत लगानी गर्ने योजना बनाएको बताए । वार्षिक १० लाखभन्दा बढी आम्दानीको योजना सहित लगानी गरेको भण्डारीको भनाई छ । उनले दुध विक्रीसँगै दुहुनो भैसीलाई म्याग्दी सहित विभिन्न जिल्लामा विक्री गर्ने गरेका छन् ।

उनले निकट भविस्यमा पोखरामा समेत भैसी फार्म सञ्चालन गरी दुहुनो भैसी विक्री तथा दुध विक्री केन्द्र बनाउने योजनामा रहेको बताए । ‘भैसीपालनमा लागेकाले महंगोमा खरिद गरेर पछि पछुताउनुपर्ने अवस्था छ,‘मैले म्याग्दीमै धेरैलाई भैसी विक्री गरेको छु’ उनले भने । पशुपालनमा मेहनत र इमान्दारिताको आवश्यकता रहेको बताए ।

‘विदेशमा काम गर्दा जति दुःख गरियो त्यति दुःख त स्वदेशमै गरेपनि आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो’ उनले भने । खाडी छोडेर घर फर्किएपछि परिवारमा समेत खुसीयाली छाएको बताए । उनले खाडीमा भेटिएका साथीहरुसँग समेत ब्यवसायीक योजना बनाएको बताएका छन् ।