बाढीपहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवास अभियानमा सक्रिय मोना अन्तराष्ट्रियलाई मोना स्पेनले झण्डै ५ लाख आर्थिक सहयोग गरेको छ । स्पेनमा रहेका म्याग्देलीको साझा संस्था मोना मार्फत बाढीपहिरोमा परेकालाई राहत तथा पुर्नवास अभियानमा ४ लाख ८३ हजार ९८८ रुपैयाँ जम्मा गरेको अध्यक्ष लक्ष्मण खत्रीले बताए ।

‘उक्त सहयोगलाई विस्थापितको पुर्नवासमा खर्चिन सहयोग गरेका छौ,‘जन्मभूमिमा आपत पर्दा यहाँबाट सक्दो सहयोग गछौं’ अध्यक्ष खत्रीले भने ।

यसबर्षको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम सहित जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापित भएकालाई मोना आइइसीको अभियानमा विश्वभर रहेका मोना तथा म्याग्देली आवद्ध संस्थाले सहयोग गरेका छन् ।

यता मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले पुर्नवास अभियानमा हङकङबाट बाट प्राप्त सहयोगले धेरै सहज हुने बताए । उनले स्थानीय तहसँग जग्गा सहित अन्य काममा सफलता मिलेको बताउँदै अव पुर्नवासको अभियान स्ुरु गर्ने बताए । म्याग्दीका सबै ६ वटै स्थानीय तहमा बाढीपहिरोबाट करिब ६ सय घरधुरी विस्थापित भएका छन्।

विभिन्न देशबाट सहयोगको प्रतिबद्धता रकम आउने क्रम जारी रहेको मोना आइइसीका कोषाध्यक्ष मुक्ति रोकाले बताए । उनका अनुसार प्रतिबद्धता अनुसारको सहयोगका साथै स्थलगत रुपमै समेत पुगेर पुर्नवास सहितको अभियानमा मोनाको टोली सक्रिय हुने बताए ।