म्याग्दीको मालिका गाउँपालिका-५ देविस्थानमा विषादी रहित खाद्य तथा पोषण प्रर्वद्धन सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र वडा कार्यालयको समन्वयमा आयोजित एक दिने कार्यक्रममा सन्तुलित खाना, नियमित व्यायामको आवश्यकता, असल खानपान, विषादी रहित खाद्यप्रर्वद्धन, नसर्ने रोगबाट बच्ने उपायहरु नियमित व्यायाम, सन्तुलित आहार, धुम्रपान र मद्यपानबाट टाढा रहने, स्वस्थ्यकर जीबनशैली, खाद्य स्वच्छताका विषयमा सहजिकरण गरिएको थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख एक नारायन लम्साल र कृषि ज्ञान केन्द्र म्याग्दीको प्रमुख गोविन्द राज कोईरालाले सहजिकरण गरेका थिए । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो भन्ने उदेश्यले पोषण प्रर्वद्धन सम्बन्धि अभिमुखिकरण गरिएको आयोजकले जनाएको छ ।

वडा नं ५ जनप्रतिनिधी, विधालयका प्रतिनिधि, क्लब प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समुहका प्रतिनिधि, वन प्रतिनिधि, समाजसेवी, कृषक लगायत २४ जनाको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षाता वडा अध्यक्ष पिपला बुढाले विषाधीको प्रयोगलाई हटाउन सबै सचेत हुनुपर्ने बताईन् ।

वडा अध्यक्ष बुढाको अध्यक्षता, देविस्थान स्वास्थ्य चौकी प्रमुख तेजिन्द्र रानाले स्वागत मन्तव्य र स्वास्थ्य कार्यालयको परिवार नियोजन सुपरभाईजर नारायण प्रसाद रेग्मीले सञ्चालन गरेको कार्यक्रममा विषादी औषधि होईन बीष भएकाले यसलाई प्रयोग नगर्न सचेतनामुलक अभियानमा सहभागि हुने सहभागीले सामुहिक प्रतिबद्धता जनाएका थिए ।