समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर

0

संसारकै राम्रो र महँगो स्कूलमा पढ्ने रहर कसलाई नहोला र ? धनी परिवारका छोराछोरीले पैसाकै बलमा भएपनि महँगो स्कुल/कलेज ताक्छन् तैपनि सबैले अवसर पाउँदैनन् । त्यसमाथि गरिबका छोराछोरीले त झन् कसरी कल्पना गर्नु ? संसारकै महँगो र उत्कृष्टमध्येको एक अन्तर्राष्ट्रिय कलेजमा नेपालबाट एक विपन्न परिवारकी छोरीले पढ्ने अवसर पाएकी छन् ।

उनी हुन् चितवनकी १५ वर्षीया अस्मिता अधिकारी । उनले स्विट्जरल्यान्डको आइग्लोन कलेजमा चार वर्षका लागि निःशुल्क छात्रवृत्तिमा पढ्ने अवसर पाएकी हुन् । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ । भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए । नेपालबाट व्यापारी उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् । अब अस्मिता पनि त्यही कलेजमा जाँदैछिन् जहाँ वार्षिक एक करोडभन्दा बढी शुल्क लाग्छ ।

पढाइ र प्रतिस्पर्धामा अब्बल भएका कारण अस्मिताले उक्त कलेजमा निःशुल्क पढ्ने अवसर पाइन् । समतामा सय रुपैयाँ शुल्कमा पढेकी उनले वार्षिक एक करोड शुल्क लाग्ने कलेजसम्मको यात्रा तय गरेकी छन् । उक्त कलेजमा नेपालबाट पनि विपन्न विद्यार्थीले पढ्न पाउनुपर्छ भनेर पहलकदमी भने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले गरेका थिए । महतोले धनीका छोराछोरीले पढ्ने ठाउँमा गरिबका विद्यार्थीले पनि पढ्न पाउनुपर्छ भनेर पहल गर्दै आएका थिए ।

पछिल्लो दुई वर्षयता महतोेले समता स्कुलमा आवतजावत बढाएका थिए ।  त्यसपछि उनले आफ्नी छोरीले पढेको कलेजका प्रिन्सिपल रिचर्ड म्याकडोनाल्डलाई नेपाल बोलाए । २०१९ मा स्कुलका प्रिन्सिपल रिचर्ड नेपाल आए । उनले समताको पढाइ र त्यहाँ पढ्ने विद्यार्थीको अवस्थामा चासो दिए । त्यसपछि उनले एकजना विद्यार्थीलाई छात्रवृत्ति दिने भन्दै विद्यार्थीको क्षमता मापन गरे ।

समतामै पढ्दै गरेका ५ सय विद्यार्थीको विवरण संकलन गरेर स्विट्जरल्यान्ड गएका रिचर्डले अस्मिताको नाम छनोट गरेका हुन् ।  समता स्कुलका संस्थापक उत्तम सञ्जेलका अनुसार रिचर्डले अब हरेक वर्ष नेपालबाट एकजना विद्यार्थी उक्त कलेजमा पढाउन लैजाने वचन दिएका छन् । ‘यस वर्ष अस्मिता छनोटमा परेकी छन्,’ उनले भने, ‘गरिब परिवारमा जन्मे पनि मेहनती विद्यार्थीले राम्रो ठाउँमा अध्ययन गर्ने अवसर पाउनेछन्, जुन चानचुने कुरा होइन ।’

अस्मिता यति बेला स्विट्जरल्यान्ड जाने तयारीमा छन् । उनलाई कलेजले जनवरी १० मा त्यहाँ पुग्न बोलाएको छ । अस्मिता अहिले कलेज भर्नाका लागि लिइने अनलाइन कक्षामा सहभागी भइरहेकी छन् । ‘नाम निस्किएपछि मैले कलेजले भनेअनुसार तयारी गरिरहेकी छु’, अस्मिताले भनिन् ।  अस्मिताले कक्षा ६ देखि समतामा पढेकी हुन् । यो वर्ष एसइईमा ३.९ जिपिए अंक ल्याएर उत्तीर्ण गरेकी अस्मिताले आइग्लोनमा पढ्ने अवसर पाउँदा आफू असाध्यै खुसी भएको बताइन् ।

‘फारममा मैले सामान्य पारिवारिक विवरण र मेरो उद्देश्य लेखेकी थिएँ, त्यति लेख्दा मेरो नाम छात्रवृत्तिमा छनोट हुन्छ भन्ने सोचेकी पनि थिइनँ,’ उनले सुनाइन, ‘मभन्दा सिनियर दाइ/दिदी पनि हुनुहुन्छ, उहाँहरू हुँदाहुँदै मैले अवसर पाउँदिनँ भन्ने लागेको थियो, आखिर मेरै नाम निस्कियो ।’ अस्मिताले संगीत, इतिहास र पूर्वाधार विकासप्रति आफ्नो रुचि रहेको बताइन् । अस्मिताका परिवार काठमाडौंको बौद्धमा भाडामा बस्छन् । उनका बुबा ट्याक्सी ड्राइभर हुन् । छोरीले संसारकै उत्कृष्ट कलेजमा पढ्न पाउनेभएपछि उनका बुबा अमृत अधिकारी पनि खुसी छन् । ‘कहाँ र कसरी पढाउने भनेर चिन्ता थियो,

छात्रवृत्तिमा नाम छनोट भएपछि सारै खुसी लागेको छ,’ अमृतले भने । भर्खर १५ वर्षमा प्रवेश गरेकी अस्मितासँग कुराकानी गरिरहँदा उनी सानै छिन् भन्ने महसुस हुँदैन । उनी देशको राजनीति र विकासको अवस्थाबारे राम्ररी जानकार छिन् । देशमा किन विकास भएन भन्नेबारे उनले आफ्नै बुझाइ सुनाइन् ।

‘मलाई देश विकास गर्न मन छ,’ उनी भन्छिन्, ‘जहाँ पढे पनि म नेपालमै फर्किएर काम गर्न चाहन्छु, अरु देशको विकासको तुलनामा हामी धेरै पछि छौं, यहाँ भ्रष्टाचार मात्रै भएको सुनिन्छ ।’ आफू विदेश पढ्न जान लागेकाले उनले अहिलेको विकास र राजनीतिक अवस्थाबारे पनि अध्ययन गरिरहेकी छन् । बाहिरी मुलुकमा पुग्दा आफ्नो देशलाई बुझ्न सकियोस् भनेर अध्ययन गरेको उनले बताइन् । नागरिक दैनिकमा समाचार छ । 

Leave a Reply