प्रअ हत्या आरोपितलाई कारबाही माग

0

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानाध्यापकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ । आयोगले मंसिर २३ गते भएको मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्नलाई कारबाही माग गरेको हो ।

आयोग प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको जनाएको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोको प्रेस वक्तव्यअनुसार हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको ठहर गरिएको छ । ‘व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोग खेद प्रकट गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानाध्यापक श्रेष्ठ हत्याको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

‘आफ्नो विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवन अधिकारको सम्मान गर्न आयोग नेकपालाई आग्रह गर्दछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि व्यक्तिलाई विचार, आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रूपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारसँग आग्रह गरेको छ ।’

संविधानले सबैको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । आफ्ना राजनैतिक विचार अभिव्यक्त गर्ने, बिना हातहतियार भेला हुने, शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने असहमतिलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ ।

Leave a Reply