म्याग्दीको सदरमुकाम बेनीको बिरेन्द्रचोक हुदै बेनी-दरबाङ र बेनी-अर्थुङ–पाखापानी सडक धेरै चहलपहल हुने सडकमा पर्छ । जिल्लाका ६ वटा स्थानीय तहमध्ये बेनी नगरपालिका सहित पाँच स्थान तहका बासिन्दको आवतजावतले बेनी सामुदायिक मावि आसपासमा सवारीसाधनको अत्याधिक चाप हुन्छ। पश्चिम म्याग्दीबाट सदरमुकाम आउनेको मुख्य प्रवेशद्वार समेत हो ।

बेनी–दरबाङको जिरो प्वाइन्टमै सडकको विजोगले सर्वसाधारण मात्रै होईन विद्यालयभित्रका विद्यार्थी समेत धुलोसँगै जोगिन मुस्किल छ ।

सदरमुकाम बेनीको प्रवेशद्धारको सडक स्तरोन्नति, कालोपत्रे हुनुपर्नेमा हिलाम्मे, ग्रामिण क्षेत्रमा ट्याक खोलेको जस्तै सडक र भ्वाङ् खाल्डाखुल्डी परेका छन्। करिब एक सय मिटरको बाटोमा पैदलयात्रा गर्ने सर्वसाधारणलाई चिन्न समेत नसक्ने अवस्थामा पुग्ने हालत छ। वर्षौदेखि भोग्दै आएको समस्या समाधानका लागि विद्यार्थीले नै आन्दोलन गर्दा समेत सम्बन्धित निकायले कानमा तेल हालेर बसेका छन् । प्रदेश सरकारले कालोपत्रे गर्न लागेको बेनी–दरबाङ सडकखण्ड अन्तरगत पर्ने उक्त सडकमा कालोपत्रे नहुदाँ स्थानीय जनप्रतिनिधि समेत आलोचनाको शिकार भइरहेका छन् भने ठेकेदारलाई पूर्वाधार कार्यालयले सडक बनाउन विन्ती गर्नुपर्ने अवस्था छ ।

‘नेताहरुले भाषणमात्रै गर्ने काम भएको छ,‘१ सय मिटर कालोपत्रे गर्न एकदशक अनुरोध गर्दा पनि सफल भएको छैन’ विरेन्द्रचोकका यूवा महेन्द्र श्रेष्ठले भने । उनले बेनीबजारभित्रैको विकासको हालत देखेर ग्रामिण क्षेत्रमा जनताले समेत जिस्काउने गरेको बताए । यता बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले उक्त सडक प्रदेश सरकारले काम गरिरहेको बताउँदै प्रदेश सरकारले काम गर्न नसक्ने जनाएमा नगरपालिकाले तत्काल काम गर्ने बताए ।

मेयर हरिकुमार श्रेष्ठले समेत पटकपटक यस विषयमा सम्बन्धित निकायमा सडकमा कालोपत्रेका लागि अनुरोध गरेको बताए । सडक निर्माणको जिम्मा पाएको पूर्वाधार कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले उक्त सडकको जिम्मा लिएको लामा समानान्तर जेभीलाई कालोपत्रेको काम गर्न निर्देशन दिइसकेको बताए ।

बजारभित्रै भ्वाङ् र खाल्डाखुल्डी
सदरमुकाम बेनीबजारभित्र विभिन्न स्थानमा खाल्डाखुल्डी भएपनि मर्मत गरिएको छ। न्यू्रोड, क्याम्पसचोक, कालिपुल बसपार्क क्षेत्रमा कतै भ्वाङ् परेका छन् भने कतै खाल्डाखुल्डी छन् । भ्वाङ् र खाल्डा भने यत्रतत्र देखिन्छन्। सवारीसाधन र पदैलयात्रीलाई समेत सडकमा आवतजावतमा निकै सकस भइरहेको छ ।

बजारभित्र व्यस्त सडकमै परेको भ्वाङ् पुर्न कुनै चासो दिएको छैन्। म्याग्दी बहुमुखी क्याम्पस जाने सडकमा भ्वाङ परेको महिनौ बित्यो। तर, अहिलेसम्म सम्बन्धित निकायको त्यसतर्फ ध्यान पुगेको छैन। ढल निकासी गर्न सडकमा बनाइएका संरचनाहरु समेत धराप जस्तो छ ।