म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल पुस १ गतेदेखि खुल्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनको तयारीमा ब्यवसायी जुटेका छन्।
घरायसी रुपमा चलाइएका बाहेक अन्य होटलका मजदुर समेत होटलमा फर्किन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गर्ने निर्णय भएको पर्यटन ब्यवसायी टेकसर बुदुजा पुनले बताउनुभयो । नेपाल सरकारले तोकेको नियम अनुसार सबै मापदण्डको पालना गरिने बताउनुभयो ।

कोरोनाको महामारी नसकिएको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले पर्यटकमार्फत कोरोना भित्रन सक्ने कारण देखाउँदै गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा आवतजावतमा रोक लगाएको थियो । यसअगाडी घोरेपानीमा भित्रिएका दुई चिनियाँ पर्यटकलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको थियो ।

लामो दूरीका सवारीसाधन, आन्तरिक तथा बाह्य हवाइ उडानमा यात्रुको चहलपहल हुन थालेपछि पर्यटन ब्यवसायपनि चलायमान हुन अपेक्षा गरिएको छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सुर्योदयको अवलोकनका साथै मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पती यहाँको प्रमुख आर्कषण मानिन्छन् ।