म्याग्दीको रघुगंगा गाउँपालिका-२ साझापानीका एक यूवाले विदेशबाट फर्किएर कडकनाथ कुखुराको ब्यवसायीक पालन सुरू गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस)बाट ५ बर्र्ष दक्षिण कोरियामा विताएका अमृत भण्डारीले गाउँमै फर्किएर ’कडकनाथ’ जातका कुखुरा सहित ब्यवसायीक कुखुरापालनमा सक्रिय भएका हुन्।

देउराली पशुपंक्षी फर्म दर्ता गरी कालिजजस्तै हुने कालो जातको कु्खुरासँगै टर्की,लोकल कुखुराको खोर विस्ता र गरी ब्यवसायीक उत्पादन सुरु गरेको भण्डारीले बताए। ‘अव गाउँमै उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने सोच बनाएर यो ब्यवसायमा लागेको छु,‘इन्टरनेटबाट पनि ’कडकनाथ’ जातका कुखुराको बारेमा धेरै जानकारी लिएको छु’ भण्डारीले भने ।

हाल फर्ममा साढे ५ सय ’कडकनाथ’ जातका कुखुरा, करिब २० टर्की, लोकल कुखरा रहेको बताउँदै भविस्यमा थप खोर विस्तार गरी करिब ५० लाखको लगानीमा थप विस्तार गर्ने बताए ।  हाल करिब २० लाखको लगानी गरेको भण्डारीले बताए । करिब दुई महिना अगाडीबाट ब्यवसायीक पालन सुरु गरेका भण्डारीले थप ४० रोपनी जग्गामा उन्नतजातको कुखुरा पालन, कालिज पालन र ’कडकनाथ’ जातका कुखुराको चल्ला उत्पादन गर्ने गरी मेसिन समेत खरिद गरेका छन् ।उनले एकल लगानीमा बेनी नगरपालिका–४ मा रहेको हरियाली मोडेल र विभिन्न जिल्लामा रहेका नमुना फर्मजस्तै बनाउने बताए । ‘परिक्षाकालमै छु,‘अब विदेश जाने सोच छैन’ भण्डारीले भने। म्याग्दीमा विदेशिक रोजगारीका लागि विदेशिने क्रम चलिरहँदा विदेशबाटै फर्किएर गाउँमा ब्यवसायीक कृषि र पशुपालनमा सक्रिय हुने यूवाको संख्या बढ्दै गएको छ । तस्वीर सौजन्य साझापानी सेरोफेरो