म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले ४४ करोड भन्दा बढी लगानी गरेको छ । मंगलबार बगुवाखोलामा सम्पन्न भएको २१ बार्षिक साधारणसभाको अवसरमा सहकारीले गत आर्थिक वर्षमा कुल ३ हजार ९४६जना सदस्यको शेयर पुँजी सात करोड २१ लाख ६६ हजार एकसय रुपैयाँ रहेको छ ।

सहकारीले सोही अवधिमा निक्षेप सङ्कलन ५६ करोड ५३ लाख ९३ हजार ५४२ र लगानी ४४ करोड २२ लाख २५ हजार रुपैयाँ, विभिन्न कोष रकम १ करोड ४१ लाख २५ हजार १९८ रुपैया, मुनाफा १ करोड २८ लाख १५ हजार ७१५ गरेको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार प्रेमप्रसाद ढकालले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘उत्पादनशिल क्षेत्रमा गरिएको लगानीले सम्रग राष्ट्रलाई फाईदा पुग्छ,‘सहकारीको भविस्य नै समुदायमा आधारित लगानीमा छ’ उनले भने । सहकारीले बचत र ऋण लगानीको कारोबारमा सिमित नभई समुदायको आवश्यकता र विभिन्न सामाजिक गतिविधिमा समेत सहयोग गर्नुपर्ने बताए ।

उनले सहकारीको सेवा क्षेत्रमा छरिएको श्रम, सीप, पुँजी, प्रविधि प्रयोग गरेर सामाजिक हितको क्षेत्रमा लगानीलाई ध्यान दिनुपर्ने बताए । उनले सहकारीमार्फत आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय लगानी गरेको पाएको बताएका थिए ।

साधारणसभाको अवसरमा सहकारीले बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी बरंजाकी सपना रोका मगरलाई नगद २५ हजार सहित सम्मान गर्ने घोषणा गरिएको थियो भने मंगला गाउँपालिका–३, बराङ्जाका अपाङ्गता सोमप्रसाद सापकोटालाई अध्ययनका लागि नगद १५ हजार पाँचसय रुपैयाँ सहयोग गरेको सहकारीका बरिष्ठ प्रबन्धक बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

मुख्य कार्यालय बेनीमा रहेको सहकारीले पश्चिम म्याग्दीको दरवाङ्ग, बाबियाचौर, तातोपानी, छिमेकी जिल्ला पर्वतको मल्लाज र उत्तरी म्याग्दीको पोखरेबगरमा सेवा विस्तार गर्दै शाखा केन्द्र संचालन गरेको छ । सहकारीका उपाध्यक्ष अमृतलाल श्रेष्ठको स्वागत,सचिव रामजीप्रसाद सुवेदीले प्रगति र कोषाध्यक्ष चन्द्रकुमार केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीका अध्यक्ष बानियाँले सहकारीको सेवा विस्तारलाई प्रदेशको राजधानी पोखारसम्म पुर्याउने बताउँदै आगामी बर्ष संस्थाको बचत १ अरव पु¥याउने, बृहत ब्यवसायिक अध्ययन गरी उत्पादनमुलक उद्योग तथा ब्यवसायमा संचालन गर्ने बताए ।रजिष्ट्रार कार्यालयका शाखा अधिकृत सागर खनालको उपस्थित रहेको साधारणसभामा बेनी नगरपालिका ४ सिंगाका वडाअध्यक्ष गोविन्द्र पौडेल, शेयर सदस्य गुमानसिङ कार्की, पोखरेवगर सेवा केन्द्रका संयोजक ठगराज बरुवालले शुभकामना मन्तव्य राखेका थिए ।