भरत खत्री\रत्नेचौर
बेनी नगरपालिका–१ रत्नेचौरमा ९ सय मिटर सडक कालोपत्रे भएको छ । सडकको ट्रयाक खुलेको दुईदशक पछि रेत्नेचौर–अर्जम –भकुण्डे हुँदै भकिम्ली जोड्ने सडक स्तरउन्नती सहित कालोपत्रेको पहिलो चरणको १३ सय मिटरमा ९ सय मिटर कालोपत्रेको कार्य सम्पन्न भई अन्तिम अनुमगनको तयारी भइरहेको वडा अध्यक्ष टेकबहादुर रावलले बताए ।

‘क्रमागत बजेट अन्तरगत अर्को बर्षपनि थप सडक कालोपत्र हुन्छ,‘भकिम्ली हुदै छिमेकी पालिका जोड्नेसम्मको योजना छ’ रावलले भने । उनका अनुसार हाल रत्नेचौरको जिरो प्वाइन्टबाट ९ सय मिटर सम्पन्न भएपनि उपल्लाचौर क्षेत्रसम्म यो आवमा कालोपत्रे हुने बताए ।

प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाको पहल बजेट प्राप्त भएपछि विकास निर्माणले तिब्रता पाएको वडा अध्यक्ष रावलले बताए । सडक स्तरउन्नती सहित कालोपत्रे गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा दुई करोड ४९ लाख ७६ हजार चार सय २३ रुपियाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटलाई दुई प्याकेजमा विभाजन गरी योजना कार्यान्वयन थालिएको छ । सडक डिभिजन कार्यालय बागलुङले सर्वसिद्ध कन्ट्रक्सन सँग दुई प्याकेजमा ठेक्का सम्झौता गरी योजना कार्यान्वयन अगाडि बढाएको छ ।

दोस्रो प्याकेजमा अर्जम सम्म सडक फरकिलो,ग्यावियन झाली,नाली र मेशनरीवाल लगायतका निर्माणका कामहरु हुने निर्माण कम्पनीले जनाएको छ ।  साँघुरो सडकलाई नाली सहित ८ मिटर २० सेन्टिमिटर फराकिलो बनाइएको छ । बेनपा १ र २ का अधिकांस बस्तीले प्रशासनीक बाहेक सबै गतिविधि छिमेकी जिल्ला बागलुङमा हुने गरेको छ । रत्नेचौरमा लामो झोलुङे पुल,बृहत खानेपानी सहितका ठूला योजनाहरुमा समेत धमाधम काम भइरहेको वडा कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार रत्नेचौर हुदै पश्चिम म्याग्दीसम्म उक्त कालोपत्रेले विस्तार गर्ने लक्ष्य रहेको छ । म्याग्दीको कुल सडकमध्ये सदरमुका बेनी आसपासका सडकमा मात्रै कालोपत्रेको गरिएको छ । सदरमुका बेनी बाहिर रत्नेचौरमा मात्रै कालोपत्रे भइरहेको छ।