
विगत नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ । कोभिड–१९ का कारण बन्द भएका राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ महिनापछि आजदेखि खुला भएका छन् ।
स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर बन्द रहेका होटल, रेष्टुरेन्ट र धार्मिकस्थल खुला गर्न लागिएको हो । घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले घोडेपानीमा आन्तरिक पर्यटक आउन थालेका छन् भन्दै लामो समयसम्म होटल बन्द रहँदा व्यवसायमा पनि असर गरेकाले सुरक्षा सतर्कता अपनाएर आजदेखि यहाँका सम्पूर्ण होटल खुला गरिएको जानकारी दिए ।
‘जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर होटल सञ्चालन गर्न लागेका हौँ’, पुनले भने, ‘लामो समयसम्म होटल बन्द हुँदा व्यवसाय पनि चौपट भयो, अब हामी आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि स्वास्थ्य सावधानी अपनाउँदै तम्तयार भएर बसेका छौँ, आजदेखि यहाँका सबै होटल खुला भएका छन् ।’