पछिल्लो समय म्याग्दीको रघुगंगा गाउँपालिका जलविद्युतको ‘हव’ बन्दै गइरहेको छ । उच्च हिमाली क्षेत्र हुँदै बग्ने राहुघाट नदीबाट आधा दर्जन भन्दा बाढी जलविद्युत आयोजना लाइसेन्स प्राप्त गरेका छन् भने विद्युत प्राधिकरण र निजी क्षेत्रबाट ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित दुई ठूला आयोजनाको काम धमाधम अघि बढिरहेको छ।

जलस्रोतको सदुपयोग गर्न सके एउटै नदीबाट धेरै जलविद्युत आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण समेत विश्वकै सातौं अग्लो धौलागिरी हिमालको फेदीबाट बग्ने रगुगंगा नदी बनेको हो ।जिल्लाभित्रै निर्माणधिन अवस्थामा रहेको सबस्टेशनको काम अन्तिम चरणमा पुगेपछि लाइसेन्स लिएर बसेका आयोजनाले प्रभावित क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार विस्तारलाई तिब्रता दिएका छन्।

विद्युत प्राधिकरणको निर्माणधिन अवस्थामा रहेको रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाटको आयोजनालाई तिब्रता दिएपछि नीजि क्षेत्रले समेत वित्तिय सुनिश्चितता गदैं निर्माणकार्य सुरू गरेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए। आयोजनाको पहुँचमार्ग विस्तारको क्रममा कडा चट्टानमा सडक विस्तारमा समेत आयोजनाको ठूलो लगानी रहेको छ ।

उनले गाउँपालिका भित्र निर्माणधिन र अनुमतिको पखाईमा रहेका ८ जलविद्युत आयोजनाका बारेमा जानकारी रहेको बताए । जलविद्युत आयोजनाले तत्काल स्थानीयलाई रोजगारी, आर्थिक कारोबारका साथै सामाजिक उत्तरदाहित्व अन्तरगत सार्वजनिक संघसंस्थाले सहयोग समेत प्राप्त गर्नेछन् ।

विद्युत विकास विभागले दिएको जानकारी अनुसार राहुघाट नदीमा विद्युत प्राधिकरणको ४० मेगावाटको रघुगंगा बाहेक टुन्डी पावर लिमिटेड प्रर्वद्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको सुरुङ, बाँध, आवास र विद्युतगृहको निर्माण सुरु भएको छ भने टुन्डी पावरनै प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाटको पहुँचमार्ग र आवास क्याम्प लगायतका संरचनामा जनशक्ती परिचालन गरेको छ ।

एउटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युत गृहमा हाल्ने (क्यासकेट प्रोजेक्ट) प्रविधिअन्तर्गत एकैसाथ दुई वटा आयोजनाको निर्माणकार्य सुरु गरेको इन्जिनियर प्रकाश तिमिल्सिनाले बताए । उनका अनुसार आयोजना जोडेर निर्माण गर्दा आयोजनाको शुरुको आयोजनामा मात्रै बाँध निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ ।

आयोजनामा उत्पादन भएको विद्युत् केन्द्रिय प्रसारण लाइनअन्र्तगत दाना सवस्टेशनमा जोडिनेछ । त्यस्तै संयुक्त उर्जा प्रालीले २१.३० मेगावाटले निर्माणको अनुमति पाएको छ ।

गाउँपालिकाभित्र कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट, ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट, केही प्रवासी म्याग्देलीको अगुवाईम मोना हाइड्रोपावर लिमिटेडले ५.५ मेगावाट क्षमताको सर्वेक्षण अनुमति मागेको जनाइएको छ ।

म्याग्दीमा उत्तरी म्याग्दीको अन्नपूर्ण र पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा ठूला जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् भने लाइसेन्स होल्डर गरेर बसेका धेरै आयोजनाले सर्वेक्षणको अनुमति मागेको विद्युत विकास विभागले जनाएको छ ।