डोल्पाबाट राष्ट्रिय पन्छी डाँफेलाई काठमाण्डौस्थित चिडियाखाना लगिने भएको छ ।

मध्येवर्ती क्षेत्रका एक स्थानीयले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाण्डौं लैजान लागिएको निकुञ्जले जनाएको हो ।

एक साता अघि त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ रसी गाँउ बस्ने स्थानीय बिरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको अबस्थामा यो डाँफैको उद्दार गर्नुभएको थियो ।

संघीय सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले बताउनुभयो ।

डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिन भित्रै काठमाण्डौं लैजाने तयारी भइरहेको पौडेलको भनाइ छ ।

एक महिना यता दुई घोरल र एक डाँफेसहित तीन वटा संरक्षित वन्यजन्तु स्थानीयलेनै उद्धार गरी निकुञ्ज कार्यालयमा बुझाएका छन् ।

पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयलाई वन्यजन्तु संरक्षणमा जागरुप बनाउन निकुञ्ज सफल भएको सरोकारवालको भनाइ छ ।
संरक्षणका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरस्कृतसमेत गर्दै आएको छ ।।