नेकपाका स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी पुस १ गते नै वस्तुतः फुटिसकेको बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले विभाजनको बीउ धेरै अगाडि नै रोपेको ज्ञवालीले बताएका हुन् ।कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘पार्टी वस्तुतः अस्ति १ गते नै फुटेको हो ।
‘प्रधानमन्त्रीका सामु योबाहेक अर्को बाटो थिएन । साथीहरूले चौतर्फी घेराबन्दीबाट यस्तो बिन्दुमा पुर्याउनुभयो कि मुलुकलाई निकास दिन यो एउटा बाध्यकारी निर्णय लिनुपर्यो’ उनले भने, ‘ नेताहरूलाई एउटा अवसर पनि छ । साथीहरूले केपी ओलीका कारण दुई तिहाइ आएको होइन भन्दै हुनुहुन्थ्यो, अब लोकप्रियता मापन गर्न, परीक्षण गर्न र विजयी हुनका लागि उहाँहरूलाई सहज बाटो खुलेको छ ।
अब थप तिक्तता गरिरहनुपर्ने जरुरी भएन । खालि ध्यान केन्द्रित गरेर निर्वाचनतिर जानु नै उपयुक्त हुन्छ जस्तो लाग्छ । मेरो व्यक्तिगत मतको कुरै भएन, अहिले व्यक्तिगत प्रश्न पनि नसोध्नुस् । सरकारले निर्णय लियो । यो एक प्रकारको सामूहिक निर्णय हो । निर्णयमा पुग्नुभन्दा अगाडि विभिन्न ढंगले छलफल त हुन्छ नि !’