युराेपेली देशलगायत विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता मञ्चहरूले नेपालकाे संसद विघटनलाइ लिएर दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्न गरेको निर्णयबाट स्तब्ध भएकाे उनीहरूले बताएका छन् ।

‘प्रधानमन्त्रीको यो कदम असंवैधानिक रहेको र जनताको चाहना विपरीत रहेको हाम्रो ठहर छ,’ सम्पूर्ण प्रवासी नेपाली एकता मञ्चहरूका तर्फबाट जारी विज्ञप्तीमा भनिएकाे छ, ‘देश कोरोनाको कहरबाट गुज्रिरहेको बेला जनताको पीडामा मल्हम लगाउनुपर्ने बेलामा सरकारको यो निर्णय गलत छ ।’

तीन वर्षअघि जनताको म्यान्डेटबाट आएको झन्डै दुइ तिहाई बहुमत प्राप्त सरकारले देशको मुहार फेर्न क्रान्तिकारी र प्रगतिशील कदमहरु उठाउने आम जनताको आशा रहेकाेमा सरकारले शुरुदेखि नै त्यस दिशामा काम गर्न नसकेकाे उनीहरूकाे भनाइ छ । ‘पार्टीभित्रैबाट सच्चिन बारम्बार सल्लाह दिँदा पनि प्रधानमन्त्री र उहाँका निकटहरुले त्यसलाई दबाबका रुप लिनु भयाे,’ विज्ञप्तीमा भनिएकाे छ ।

समझदारी र संवादको माध्यमबाट तार्किक निष्कर्षमा पुग्ने सम्भावना बाँकी रहँदारहँदै पनि संसद विघटन गर्ने सरकारको यो निर्णय गलत रहेकाे भन्दै उनीहरूले यदि कुनै किसिमले सच्याउन सम्भव भए यो कदमलाई सच्याएर वार्ता र छलफलबाट अहिलेको संकटलाई निकास दिन  आग्रह गरेका छन् ।