सबैका आमाबुबाले जस्तै कमला र कुवेर शाहीले पनि सोचेका थिए, कतै छोरी खेलकुदमा लागेर बिग्रिने त होइन ? चिन्ता स्वाभाविकै थियो । तर, जतिबेला छोरीले देशका लागि खेलेर अपार ख्याति कमाइन्, त्यतिबेला तिनै आमाबुबाले भनेछन्, ‘हाम्री छोरीले त हाम्रो इज्जत पो बढाइन् ।’

यो प्रसंग हो, नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको । २०७६ सालमा नेपाली खेलकुदको वृत्तान्त भन्नु नै नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद हो । त्यसका अनेकन् सफलताका कथा छन् । त्यसैमध्ये सम्भवतः सबैभन्दा मनछुने पदक हो, महिला भलिबल टिमले जितेको रजत । भन्नेले भन्दा हुन्, एकपछि अर्को स्वर्णको हुलमा यो रजत पदक के नै हो र ? तर, त्यस्तो होइन । यो रजत पदकको सार नै बेग्लै छ, अनुपम पनि ।

भलिबल त नेपालको राष्ट्रिय खेल हो । त्यसमाथि महिला भलिबल बढी नै लोकप्रिय छ । यसका लागि वर्ष २०७६ बेग्लै सानको रह्यो । यही वर्षको उपलब्धिले देखाउँछ, यो खेलमा नेपालको सम्भावना उत्तिकै बाक्लो छ । नेपालले त्यो वर्ष एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको थियो । यो महिला भलिबलले पाएको अहिलेसम्मकै ठूलो सफलता हो । त्यसपछि त दक्षिण एसियाली खेलकुदमा रजत पदक हात परिहाल्यो । यो यात्रामा टिमकी सबैभन्दा ठूला पात्र रहिन्, यिनै अरुणा । उनी कप्तान त हुन् नै, गहकिला ‘सेटर’ पनि हुन् । नेपाली महिला भबिललमा आम खेलप्रेमीमा सबैभन्दा चिनिने नाममध्ये सबैभन्दा अगाडि अरुणाकै नाम आउने गर्छ । आखिर यी २७ वर्षीया चेलीले त्यसको आधाभन्दा बढी उमेर अर्थात् १४ वर्ष भलिबलप्रति समर्पित गरिसकेकी छन् ।

यिनै दुई ठूलो सफलतापछि म्याग्दी रघुगंगा गाउँपालिकाका आमाबुबाले आफ्नी छोरीलाई लिएर गर्व नगरी कहाँ हुन्थ्यो र ? उनी त अब पूरा गाउँकै सान हुन्, अझ यो भौगोलिक घेरा तोडेर देशकै इज्जतसमेत भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष ०७६ को पल्सर स्पोर्टस अवार्डको लोकप्रिय खेलाडी विधाको मनोनयनमा अरुणा परेकी छन् ।

अब अरुणालाई समग्र भलिबलप्रति पुर्‍याएको योगदानका लागि धेरैभन्दा धेरै मत दिएर जिताउने काम आम खेलप्रेमीको हो । फेरि एकपल्ट त्यही १३औं दक्षिण एसियाली खेलकुदमा फर्कौ न, त्यसमा पनि महिला भलिबलको फाइनल । नेपालको प्रतिद्वन्द्वी थियो भारत । स्वर्णको प्रतिस्पर्धामा नेपालले सुरुआती दुई सेट जितेको थियो । सबैलाई लागेको थियो अब स्वर्ण नेपालकै हो । तर त्यस्तो भएन, नेपालले त्यसपछि तीन सेट गुमायो । यो तीन सेट गुमाएको मात्र थिएन, स्वर्ण नै गुमाएको थियो । अरुणालाई मुखमै आएको गाँस खोसिएजस्तै लाग्यो । फाइनल खेल के सकिएको थियो, सबै खेलाडीले मन थाम्न सकेनन्, कोर्टमै आँसु बगाए । अरू बेला खासै रून नपर्ने अरुणाले पनि आफूलाई रोक्न सकिनन्, आँसु बगिहाल्यो ।

त्यसो त अरुणा खासै बोलिरहने खालकी होइनन् । उनलाई हल्का अन्तरमुखी स्वभावकी भन्दा हुन्छ । कप्तान भएयता उनलाई बोल्नुपरेको छ । तर, कम बोल्न सबैले जस्तै उनले सपना भने धेरै देख्छिन्, त्यो पनि दिउँसै । सपनासँगै मनका कुरा खेलाउने बानीभन्दा हुन्छ । विश्वास नहुन सक्छ, त्यो फाइनल सकिएको एक वर्ष भइसकेको छ, अरुणाको मनबाट त्यतिबेलाका कुनै पनि क्षण हराएका छैनन् ।

सबै आँखै अगाडि छन्, सिनेमाका दृश्यजस्तै चारैतर्फ घुमिरहेका छन् । उनलाई लाग्छ, समयको चक्र उल्टो घुमाएर फेरि फाइनलसम्म पुग्न पाए, ती हारेका तीन सेटलाई उल्टाउने प्रयास गर्थिन् । स्वर्ण जित्न प्रयास गर्थिन् । यी सबै कल्पना नै त हुन्, तर यसले अरुणा कस्ती छन्, त्यसको सार खिच्छ । उनी हाकाहाकी भन्छिन्, ‘भलिबल नै मेरो पहिलो प्रेम हो ।’

सानोमा वीरेन्द्र सिल्ड खेल्दा उनी पहिलोपल्ट प्रशिक्षक कौशिला खत्रीको नजरमा परेकी थिइन्, त्यसपछि त सिधै भलिबलका लागि चर्चित ज्ञानुबाबा स्कुल पुगिन् । त्यसपछि कथा त धेरैलाई थाहा छ । केही वर्षयता त उनी कप्तान छिन् । यिनै अरुणा आफ्नो खेलजीवनको अर्को मोडमा छिन्, ‘पपुलर प्लेयर’ को मनोनयनमा परेर । त्यसलाई सुखमय बनाउन अरुणालाई धेरैभन्दा धेरै मत दिने कि ? कान्तिपुर दैनिकमा खबर छ ।