?

विदेशको कमाइ कुम्लयाएर श्रीमान फरार भएको भन्दै एक महिलाले श्रीमानको खोजी गरेकी छिन् । जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराकी ती महिलाले सरोकारवालाई खोजी गरिदिन अनुरोध गरेकी हुन् । श्रीमान प्रेम पौडेलले जापानमा रहँदा आँफु समेतले कमाएको रकम बोकेर फरार भएको भन्दै सरीता सुवेदी पौडेलले जिल्ला प्रहरी कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङलाई अनुरोध गरेकी हुन् ।

तीन बर्ष पहिले श्रीमानसँग डिपेण्डेण्ट भिसामा जापान पुगेकी उनले दुई बर्षसम्म कमाएको ७१ लाख रुपैयाँ नगद लिएर श्रीमान फरार भएको प्रहरीमा दिएको निवेदनमा उल्लेख छ । २०७१ सालमा विद्यार्थी भिषामा जापान पुगेका प्रेमले तीन बर्ष पहिला सरीतालाई डिपेन्डेण्ट भिसामा जापान लगेका थिए ।

बागलुङ नगरपालिका–१४ नारायणस्थान माईतीघर भएकी सरीता र प्रेम बिच २०६७ सालमा परम्परागत विवाह भएको थियो । ‘जापान पुगेपछि दुई बर्षको भिसा लगाईदिनुभयो, काम पनि थालें, तर कमाइ मैले राख्न पाइन’ उनले भनिन्, ‘कुटपीट गरेर सबै पैसा लगेपछि म शरणार्थी बन्नु प¥यो ।’

उनी जापान पुगेदेखिनै सम्बन्ध राम्रो नभएको बताइन् । धेरै पटक सम्बन्ध सुधार गर्न खोजेपनि श्रीमान फरार भएको उनले बताइन् । लामो समय सम्बन्धमा दरार आएपछि उनीहरु एनआरएन जापान र बलेवा सेवा समाजको पहलमा नजिकिएका थिए । भिसा सकिएपछि डिपेण्डेण्टमा जापान पुगेकालाई सहमती आवश्यक पर्छ । श्रीमानले सहमती नदिएपछि एक बर्षसम्म शरणार्थीको रुपमा आफन्तकोमा बस्नु परेको सुवेदीले बताईन् ।

‘पछि छलफल भएर नेपालसँगै फर्किने, सँगै बस्ने र फर्किँदा भिसाको प्रोसेस गर्ने भनेपछि नेपाल आयौं, नेपाल आएपछि काठमाण्डौमा दुई दिन र बागलुङमा १२ दिनको क्वारेन्टाईन बसेर उहाँ फरार हुनुहुन्छ’ उनले भनिन् ‘होटल क्वारेन्टाईनमा फरक फरक कोठा थिए, मंसिरको २३ गते देखि सम्पर्क छैन् ।’ उनीहरु मंसिरको १३ गते नेपाल आएका थिए । सँगै आएको श्रीमान र कमाएको पैसा समेत नरहेकाले आँफु बेसहारा भएको भन्दै उनले खोजीका लागि आग्रह गरेकी हुन् ।

उनीहरुको आठ बर्षको छोरा छन् । ‘पहिले देवरसँग घरमा रहेको छोरा माइतीमा राखेकी छु’ उनले भनिन् ‘पहिलेदेखिनै मसँग टाढिन चाहनु भएका श्रीमान हराउनुभयो, मेरो न टेक्ने डाली छ नत समाउने हाँगा ।’ सुवेदीले निवेदन दिएपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय र त्रिभुवन बिमानस्थलमा समेत प्रहरीले फरार भएका उनका श्रीमानको हुलीया पठाएको छ ।

‘हामीले खोजी थालेका छौं, तर केही पत्ता लागेको छैन्’ प्रहरी निरीक्षक विजय भण्डारीले भने ‘हाम्रो इन्क्वारी भन्दा उनी पहिलै देशभन्दा बाहिर पुगेकोपनि हुन सक्छ ।’ यता परिवारले भने प्रेम र सरिता बिचको सम्बन्धका बिषयमा जानकारी नभएपनि घरमा आएर सरिताले बस्न नचाहेका कारण समस्या पैदा भएको बताएको छ । आफ्नो घर र काम गरेर खान सक्दीन भनेर जापानबाट फर्केकी भाउजु घर छोडेर हिँडेको सरिताका देवर राजु पौडेलले बताए । dhorpatannews.com