अग्लो पहाडको टुप्पोबाट तल जमिनतिर छङ्छङ आवाज निकाल्दै बग्ने गर्छ झरना । झरनादेखि केही मिटर टाढाबाट भिरालो पहाडमा लडिबडी खेल्दै बगेको झरनालाई एकोहोरो हेरिरहँदा शीरको टोपी र पछ्यौरी खसेको पत्तो हुँदैन ।

झरनासँगैको हरियाली रमणीय दृश्यमा आँखा घुमाउन पाउँदा निकै आनन्द आउँछ । एकबर्ष अगाडीसम्म उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७, हिस्तानको महभीर झरनामा पुग्ने पर्यटकले बयान गर्ने झरना हिजोआज भने बनाइएको संरचनाको उचित संरक्षण नहुदाँ लथालिङ अवस्थामा पुगेको छ । पहिले

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरला सडकखण्ड नजिक रहेको प्राकृतिक रुपमा रहेको झरना कञ्चन र सफा भएपनि बनाइएको पूर्वाधार तहसनहस भएपछि सुन्दरता नै गुमेजस्तो महसुस पर्यटकले गर्ने गरेका छन् ।

निकै आकर्षक, सुन्दर र मनमोहक भएकै कारण पर्यटकलाई तान्न शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङबाट तीनलाख रुपैयाँको बजेटमा झरनासम्म पुग्ने पदमार्ग निर्माण, घेरबार, बस्नका लागि बेन्च र फलफुलका विरुवाहरु रोपिएको थियो भने वडा कार्यालयले समेत जनश्रमदान र केही बजेट खर्च गरेर चिटिक्क बनाएको संरचना भाँचिएको र हराउन थालेको छ ।

सडकखण्डबाट झरनातर्फ जाने पदमार्ग भत्किएको छ भने झरना आसपासमा बनाइएको फलामको विश्रामस्थल छैन् । वर्षातको समयमा ठूलो हुने झरना गर्मीयाममा भने केही सानो स्वरुपमा परिवर्तन हुन्छ । झरनाको फेदीमा कृत्रिम पोखरीको सुन्दरताले नै पर्यटकलाई लोभ्याउँछ ।झरनामा राखिएका फूलका गमला हराए

झरना आसपासमा रहेका फुलको गमला हराएको छ भने अहिले झरना उजाड देखिन्छ । पर्यटकको बसाई लम्बाउन बनाइएको संरचनाको करिब ९० प्रतिशत झरना आसपासमा भेटिदैन् । पहाडको फेदीमा करिब एक सय मिटर माथिबाट खस्ने भरनाले पर्यटकलाई आर्कषित गरेको थियो ।

वडामार्फत बनाइएको पूर्वाधारको संरक्षण र थप संरचनाका लागि डिपिआर समेत तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताए । ‘स्थानीयस्तरबाटै उचित संरक्षणको आवश्यकता छ,‘पूर्वाधार बिना पर्यटकलाई आर्कषित गर्न सकिदैन’ उनले भने । अग्लो तथा भिरालो पहाडको टुप्पोबाट एकनासले तल जमिनतिर खसिरहने झरना हेर्दा आनन्द आउने पर्यटकहरुसँग अनुभव छ ।करिब एक घण्टासम्म पर्यटक रोकिएर तस्वीर लिने झरनामा अहिले हतार–हतारमा फर्किने गरेको स्थानीयको भनाई छ ।

झरनाको डिपीआर तयार भएपछि संरचना बनाउन सुरु गरिएका प्रवेश शुल्क लिने र आयस्रोतको रुपमा समेत परिचालन गरिने गाउँपालिकाले जनाएको छ । झरनामा साहासीक खेल क्यानोईङ पनी सञ्चालन गर्न सकिने सम्भावना रहेको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि २ घण्टाको यात्रामा महभीर झरनामा पुगिन्छ । पछिल्लो समय झरनालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्नकै लागि भए पनि पर्यटकहरु झरनामा जान्छन् ।