हरेकका आमाबुबाले आफ्ना सन्तान खेलकुदमा लागेर बिग्रिने त होइन ? म्याग्दीका कमला शाही र कुबिर शाहीले पनि आफ्नी छोरी खेलमा लागेर बिग्रने त होइन भन्ने सोचेका थिए। चिन्ता स्वाभाविकै थियो। तर, समयसँगै शाही परिवारको बुझाइ पनि परिवर्तन भयो। जति बेला छोरीले देशका लागि खेलेर अपार ख्याति कमाइन्, त्यस बेला तिनै आमाबुबालाई लाग्यो, ‘हाम्रो छोरीले त इज्जत पो बढाइन्।’

यो कथा हो, नेपाली राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाहीको। १३औं दक्षिण एसियाली खेलकुद (साग) गत वर्ष नेपालमै सम्पन्न भएको थियो, जसमा घरेलु राष्ट्रले गर्विलो इतिहास स्थापित गरेको थियो। त्यसमध्ये सम्भवतः मन छुने कथा थियो, महिला राष्ट्रिय भलिबल टोलीले चुमेको रजत पदक। एकपछि अर्को स्वर्णको हूलमा पनि त्यो रजत पदक विशेष थियो ? यो रजत पदकको सार नै बेग्लै छ र अनुपम पनि। भलिबल नेपालको राष्ट्रिय खेल हो। त्यसमाथि महिला भलिबल बढी नै लोकप्रिय छ। वर्ष २०७६ मा त नेपाली महिला भलिबलका लागि बेग्लै सानको रह्यो।

यही वर्षको उपलब्धिले देखाउँछ, यो खेलमा नेपालको राम्रो सम्भावना छ। त्यो वर्ष नेपालले एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको थियो, जुन नेपाली भलिबलले नै पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो। त्यसपछि सागमा पनि महिला भलिबलले रजत पदक जित्यो। यो यात्रामा टोलीका महŒवपूर्ण पात्र हुन्, तिनै करुणा। उनी कप्तान त हुन् नै, गेमचेन्जर ‘सेटर’ पनि। नेपाली महिला भलिबलमा आम खेलप्रेमीमा चिनिने नाममध्ये एक हुन् अरूणा। आखिर यी २७ वर्षीया चेलीले त्यसको आधाभन्दा बढी वर्ष भलिबलका लागि समर्पित गरिसकेकी छिन्।

यिनै दुई ठूला सफलतापछि म्याग्दी रघुगंगा गाउँ पालिकाका आमा बुबाले आफ्नै छोरीलाई लिएर गर्व नगरेर कहाँ पाइन्थ्यो त ? उनी त अब पूरा गाउँकै सान हुन्, अझ यो भौगोलिक घेरा तोडेर देशकै इज्जतसमेत भएकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष ०७६ को पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय खेलाडी विधाको मनोनयनमा अरूणा पनि परेकी छिन्।

अब यिनलाई समग्र भलिबलमा पु¥याएको योगदानका लागि धेरैभन्दा धेरै मत दिएर जिताउने काम आम खेलप्रेमीको हो। फेरि एकपल्ट त्यही १३औं दक्षिण एसियाली खेलकुदमा फर्कौ न, त्यसमा पनि महिला भलिबलको फाइनल। नेपालको प्रतिद्वन्द्वी थियो, भारत। स्वर्णको प्रतिस्पर्धामा नेपालले सुरुआती दुई सेट जितेको थियो, सबैलाई लागेको थियो, अब स्वर्ण नेपालकै हो।

तर त्यस्तो भएन्, नेपालले त्यसपछि तीन सेट गुमायो। यो तीन सेट गुमाएको मात्र थिएन, स्वर्ण नै गुम्यो। अरूणालाई मुखमै आएको भाग खोसिएको जस्तै लागेको थियो। फाइनल खेल के सकिएको थियो, सबै खेलाडीले मन नै थाम्न सकेनन्, कोर्टमै रोए। अरू बेला खासै रून नपर्ने अरूणाले पनि आफूलाई रोक्न सकिनन्, अविरल आँसु बगिहाल्यो। त्यसो त अरूणा खासै बोलिरहने खालकी होइनन्, तिनलाई हल्का अन्तरमुखी भन्दा पनि हुन्छ। कप्तान भएयता उनलाई बोल्नु परेको छ। तर कम बोल्न सबैले जस्तै । nagariknews.com