काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित मण्डिखाटारका मनोहरराज घिमिरेको घर र गाडीमा तोडफोड भएको घटनामा विप्लव समूहले आफ्नो संलग्नता नरहेको दावी गरेको छ ।  ०७६ फागुनमा भएको सो घटनामा आफ्ना नेता–कार्यकर्ताको संलग्नता नरहेको आन्तरिक अनुसन्धानबाट पुष्टि भएको विप्लव समूहका काठमाडौं जिल्ला सेक्रेटरी ‘पवन’ले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

विप्लव समूहको नाम लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संघ गोरखा संयोजक अशोक शर्मा भट्ट र राष्ट्रिय जनता पार्टीमा आवद्ध गणेश कुँवरले आक्रमण गरेको सो समूहले दावी गरेको छ । गणेश कुँवर गुल्मीका हुन् ।

फागनु १६ मा भएको सो तोडफोडको निन्दा गर्दै मनोहरराजको घर र गाडीमा क्षति पुगेकोमा विप्लवका काठमाडौं सेक्रेटरीले दुःख व्यक्त गरेका छन् ।

तोडफोडलाई ‘आपराधिक घटना’को संज्ञा दिँदै भट्ट र कुँवरलाई सो समूहले कारवाही गर्ने चेतावनी दिएको छ ।