दुवै मृगौलामा समस्या देखिएपछि आर्थिक समस्या झेल्दै आएका म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटका एक यूवाको उपचारमा एकैदिन करिब ९ लाख आर्थिक सहयोग गरिएको छ । पोखराको आस्था क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरमा उपचारर्थ ३० बर्षिय चित्रबहादुर पुनको उपचारमा स्वदेश तथा विदेशबाट संकलन भएको ८ लाख ९० हजार २८५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

अमेरिकामा रहेका निस्कोटबासीले पठाएको ७ लाख ५६ हजार ५२२ रुपैयाँ बेनी मंगलाघाट निवासी पानकुमारी पुन र क्यानडाबाट प्राप्त १ लाख ९ हजार ६३७ रुपैयाँ भबहादुर पुनमार्फत हस्तान्तण गरिएको थियो ।

आइतबार पश्चिम म्याग्दीको दरबाङमा आयोजित कार्यक्रममा एकबर्ष अगाडी मृगौलामा समस्या देखिएपनि उपचारमा आर्थिक अभावले छटपटाइरहेका पुनलाई अमेरिकामा लोकमान छन्त्याल, सोम बुढाथोकी, जगत पुन, महेन्द्र पुन, कमला पुन, दिनेश पुन, खगेन्द्र पुन, जेनी राना लगायतको पहलमा संकलन भएको थियो भने क्यानेडामा धनबहादुर फगामीको पहलमा सहयोग संकलन गरिएको थियो ।

सोही अवसरमा जापानमा रहेका निस्कोटका सागर पुन १० हजार, लालीगुराँस आमा समुह रिठ्ठेचौर ५ हजार, सम्झना आमा समुह बास्बोट निस्कोट १० हजार, कुलदेवी र निर गर्बुजा अस्ट्रेलिया ८० डलर, याम जुग्जाली साउदी ५ हजार लगायतले सहयोग गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पीडित पुनले उपचारमा प्राप्त सहयोगले धेरै सहज भएको बताएका थिए ।

 

नीजि क्लिनिकमा उपचार गर्नुपर्ने बाध्यता रहेको बताउँदै एक हप्तामा करिब ११ हजार खर्च हुने गरेको बताए।‘सहयोगलाई उपचारमै खर्च गरेको छु,‘प्रत्यारोपण गरेपछि बाँकी भएमा छोराछोरीको खातामा जम्मा गर्छु’ उनले भने ।

सहयोग हस्तान्तरण कार्यक्रममा विमल पुन, केबी एकेडेमी एण्ड बोर्डिङ स्कुलका निर्देशक हिरा पुन, प्रिन्सिपल लक्ष्मी थापा, निस्कोटका आमा समुह सहित स्थानीयको उपस्थिती रहेको थियो ।

मृगौला पीडित पुनको बैदेशिक रोजगारीकै क्रममा श्रीमतिले समेत दोस्रो विवाह गरेपछि बिचल्लीमा परेका छोराछोरी र बृद्ध बुबालाई समेत सहयोग जुटेको छ। मृगौला प्रत्यारोपण तथा डायलासिसका लागि यसअगाडी समेत विभिन्न देशबाट सहयोग संकलन भएको थियो ।

From Canada