म्याग्दीको रघुगंगा गाउँपालिका-४, दग्नाम राम्चेकी ९२ बर्षिया नन्दकली गर्बुजा घरमा पहिलोपटक उज्यालो बत्ति बलेपछि निकै खुशी भइन्।

दग्नामको सिरानमा रहेको नन्दकलीको घरमा केन्द्रिय प्रशारण लाइन पुगेको सातबर्षपछि बल्ल बिजुली बलेको छ । जिर्ण घरमा बस्दै आएकी नन्दकलीले सेतो स्वीच प्याट्ट थिच्नसाथ उज्यालो भएपछि दंग परिन् ।

गाउँ आसपासमा विहान र साँझपख सधै झिलिमिली देख्ने हस्तराम पुन पहिलोपटक घरमा विजुली पुगेपछि हर्षित हुँदै निकैबेर अलमलमा परे ।

नन्दकली र हस्तरामजस्तै गाउँका अपाङ्ग र अति विपन्न ५ परिवारलाई इजरायलमा रहेकी विष्णु गर्बुजाले ब्यक्तिगत खर्चमा मिटरबक्स, वाइरिङ, विद्युतको पोलदेखि घरसम्मको तार लगायतको आवश्यक खर्चमा विजुली जडान गरिदिएपछि हर्षित भएका छन्। रोजगारको सिलसिलामा इजरायलमा रहेकी गर्बुजाले ताराप्रसाद गर्बुजा, होमबहादुर पाईजा, थममायाँ पाईजा सहित ५ जनालाई ५५ हजार खर्चमा जडान गरेको जनता माविका प्रधानाध्यापक गुन पुनले बताए । ‘एउटा स्वीच दावेकै भरमा घरै उज्यालो भएपछि सबै खुसी छन्,‘उज्यालोमा बस्न पाएपछि सबैले धन्यवाद दिएका छन्’ प्रअ पुनले भने ।

विष्णु गर्बुजा

विपन्नको विजुलीको बिल समेत सहयोगबाट तिर्ने पुनको भनाई छ । मट्टितेल समेत किन्न नसक्ने अवस्थामा अध्यारोमा रात काटदै आएकाले २०७० सालमा केन्द्रिय लाइन पुगेपनि वर्षौदेखिको विजुली बाल्ने सपना बल्ल पूरा भएको भन्दै सहयोगदातालाई धन्यवाद दिएका छन् ।

बिजुली बाल्न सहयोग गर्नेलाई घर फर्किएपछि विजुली बालेको घरमा ल्याउने चाहना समेत रहेको बताएका छन् । जिल्लाको दुर्गम क्षेत्रमा केन्द्रीय विद्युत लाइन पुगेपनि आर्थिक अभावका कारण विपन्न परिवारले विद्युत जोड्न समेत नसक्ने अवस्थामा छन् ।