कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि पछिल्लो समय पर्यटकीयस्थल ‘लभ्ली हिल’मा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लकडाउनले सुनसान बनेको ‘लभ्ली हिल’मा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँ नजिकै अवस्थित पर्यटकीयस्थल ‘लभ्ली हिल’ आन्तरिक पर्यटकका लागि गन्तव्यस्थल बनेको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको पैदल दूरीमा पर्ने ‘लभ्ली हिल’मा अहिले दैनिकजसो पर्यटकको उपस्थिति हुने गरेको स्थानीयवासी बताउँछन् । शनिबार तथा विदाको दिनमा एक सय भन्दाबढी पर्यटकहरु आउने गरेको खबराका स्थानीय चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण लामो समयसम्म भएको लकडाउनले घरभित्रै थन्किन बाध्य एवं व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु तथा आन्तरिक पर्यटकहरुको ‘लभ्ली हिल’मा चहलपहल बढेको जनाइएको छ । लभ्लीहिल अर्थात् मायालु डाँडामा खासगरी युवा पुस्ता र तन्नेरीहरु पुग्ने गर्दछन् । ‘लभ्ली हिल’लाई ‘कपल हिल’ समेत भन्न थालिएको छ । ‘लभ्ली हिल’मा खासगरी युवायुवतीहरु धेरै जाने गरेको पाइन्छ । विद्यालय तथा कलेज उमेर समूहका अधिकांश युवायुवतीहरु ‘लभ्ली हिल’ पुगेर रमाउने गरेका छन् ।

टिकटक नामको एप आएसँगै पछिल्लोपटक ‘लभ्ली हिल’ पुगेर टिकटक बनाउनेहरुको संख्यामा पनि वृद्धि भएको छ । विगत केही वर्षयता पर्यटकीयस्थल गन्तव्यको छबि बनाएको ‘लभ्ली हिल’ मा मायालु जोडीहरु पुग्छन् । विदा तथा शनिबार मनाउन, मर्निङ तथा इभिनिङ वाक गर्न, माइन्ड फ्रेस बनाउन, साथीभाइ मिलेर घुमफिर गर्नका लागि ‘लभ्ली हिल’ जाने युवायुवतीहरुको संख्या धेरै छ । ‘लभ्ली हिल’मा ससाना बालबालिकादेखि अधवैंसे उमेर समूहका मानिस पुग्ने गरेका छन् । शनिबारको दिन पारेर बेनीको नजिकै लभ्लीहिल घुम्न आएको बताउँदै आन्तरिक पर्यटक राजन खत्रीले लभ्लीहिल पुगेर रमाउँदा आनन्द मिलेको बताउनुभयो ।

‘लभ्ली हिल’ पुग्नेहरु क्यामेरा तथा मोबाइलमा फोटो, भिडियो र सेल्फी खिच्ने गर्दछन् । ‘लभ्ली हिल’को डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युमा पारेर फोटो तथा सेल्फी खिच्न खासगरी तन्नेरीहरु पुग्छन् । ‘लभ्ली हिल’बाट बेनीबजार, कालीगण्डकी र म्याग्दीखोला, सदरमुकाम आसपासका अन्य क्षेत्र निकै आकर्षक र मनमोहक देखिन्छ । ‘लभ्ली हिल’बाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु स्पष्टसँग देख्न पाइन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तको समेत अवलोकन गर्न पाइन्छ ।

‘लभ्ली हिल’ घुम्न पुग्नेहरुलाई लक्षित गरेर बेनी नगरपालिका, ज्यामरुककोट वडा कार्यालय तथा पर्यटन कार्यालय पोखराको आर्थिक सहयोगमा गोलघर (भ्यु–प्वाइन्ट), रेलिङ तथा बस्नका लागि आराम बेन्च राखिएको छ । त्यस्तै बेनी नगरपालिका, मोना आईइसी र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा मोना–बेनी–‘लभ्ली हिल’ पदमार्ग निर्माणसँगै ‘लभ्ली हिल’ घुम्नेहरु बढेका छन् ।

 

Leave a Reply