A cluster of stone-roofed houses in Tikot village, a popular tourist destination, in Myagdi district, is seen on Sunday, June 26, 2016. Photo: RSS

कोरोनासँगै महिनौं लकडाउनका कारण १० वर्षदेखि काठमाडौं बस्दै आएका म्याग्दीका सागर थापाले काठमाडौं छोडे । काठमाडौंमै उच्च शिक्षा अध्ययन सकेपछि मध्यमस्तरीय रोजगारी गरिरहेका उनी कोरोनाकै त्रासले सपरिवार गाउँ गए । गाउँ गएपछि उनको सोच बदलियो । अहिले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनी गाउँमै व्यावसायिक रूपमा बाख्रा पालन गर्ने योजनामा छन् । उनी भन्छन्, ‘सहरमा जति दिन गरियो, त्यतिन्जेललाई भयो, महामारीपछि गाउँ नै खोज्नुपर्‍याे त्यसकारण म गाउँमै स्वरोजगार बन्ने प्रयास गर्दै छु ।’

काठमाडौं कीर्तिपुरका दिनेश रिजाल (नाम परिवर्तन) को छोराको बिहे लकडाउन अवधिमै भयो । सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने नियम बसालेका कारण दुई परिवारका सदस्य मात्रै जम्मा भए र बिहे भयो । उनी यसअघि झैं सयौं जनालाई बोलाएर पार्टी दिनुपर्ने झन्झट नभएको बताउँछन् । ‘यसअघि मेरो जेठो छोराको बिहेमा ८ लाख रुपैयाँ त पार्टीमै खर्च भएको थियो, यसपालि कोरोना जोखिमका कारण पार्टी दिने पैसामा सबै बिहे नै सकाइयो, यसले अरुलाई देखाउन नै भए पनि खर्च गर्नुपर्ने बाध्यता भएन ।’

यी दुई त प्रतिनिधि घटना मात्रै हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण मानिसको जीवनशैली, सामाजिक सम्बन्ध र व्यवहारमा पनि परिवर्तन ल्याएको छ । सन् २०२० को सुरुवातबाटै बढेको कोरोना संक्रमण जोखिम वर्षको अन्त्यसम्म आइपुग्दा मानिसलाई फरक शैलीमा अभ्यस्त बनाउन सफल भएको छ ।

मानवशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विनोद पोखरेल कोरोनाका कारण मानिसमा सकारात्मक र नकारात्मक दुवै खालका परिवर्तन देखिएको बताउँछन् । ‘पहिला चिनेजानेका मानिस मरेको थाहा पाउँनासाथ मलामी जाने, बिहेमा बोलाएमा जाने चलन थियो,’ उनी भन्छन्, ‘तर अहिले कोरोनाका कारण सामूहिकता भन्ने अथवा कसैलाई सहयोग गरौं भन्ने भावना घटेर गएको देखिन्छ, अहिले सुने पनि कोही मलामी जाँदैनन् ।’ यसले गर्दा सामाजिक सम्बन्धमा समेत परिवर्तन ल्याएको उनको भनाइ छ ।

सामूहिकतासँगै पहिला विवाह, व्रतबन्धलगायत सामाजिक काममा धेरैलाई बोलाउने, भोज खुवाउने तर नहुनेले समेत गर्नुपर्ने मान्यता भने अहिले बदलिँदै गएको छ । अहिले यस्ता कार्य परिवारमा मात्रै सीमित भएको मानवशास्त्री पोखरेल तर्क गर्छन् । तर कोरोनाका कारण मानिसको सरसफाइ, खानपान, भेटघाटमा भने सकारात्मक प्रभाव परेको छ ।

‘अहिले अधिकांश मानिसमा नियमित हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, खानपानमा सचेतना अपनाउनेलगायत स्वास्थ्यमा सावधानी अपनाउने बानीको विकास भएको छ,’ पोखरेल भन्छन्, ‘तर रोगको कारण मानिसको आत्मीयता भने घटेको छ ।’ विद्यार्थीमा समेत हिजो पढेपछि के गर्ने भन्ने सुनिश्चित भएकोमा आज किन पढ्ने भन्ने भावनाको विकास गराएको छ ।

कोरोनाको प्रभावकै कारण अनलाइनबाटै अध्ययन अध्यापन गर्नेगराउने चलन बढेको छ भने आर्थिक कारोबारका निम्ति बैंक तथा वित्तीय संस्था धाउनुपर्ने बाध्यता कम भएको छ । यसका अतिरिक्त घरमै बसेर अनलाइनबाट सामान खरिदविक्री गर्ने परिपाटीको समेत विकास भएको छ । यसले गर्दा यो वर्ष डिटिजल प्रविधिले निकै फस्टाउने मौकासमेत पाएको विज्ञ बताउँछन् ।

‘हिजो मानिसले सोच्दै नसोचेका विषय अहिले अनलाइनको माध्यमबाट भइरहेका छन् । ‘पढाइ अनलाइन, आर्थिक कारोबार अनलाइन, उपभोग्य वस्तु तथा सामग्री खरिदविक्री अनलाइनबाटै हुँदा अनलाइन टेक्नोलोजीको प्रमोट निकै राम्रोसँग भयो,’ विज्ञहरू भन्छन्, ‘नियमित रूपमा भएको भए दसौं वर्ष लाग्ने काम वर्ष दिनमै मानिसलाई आदत परिसक्यो, यसको प्रभाव दशकौंसम्म देखिन्छ ।’

मानवशास्त्री टीका कैनी यो वर्ष कोरोना प्रभावका कारण छुट्टै खालको प्रभाव छाडेको बताउँछन् । उनले कोरोनाका कारण लकडाउन गर्दा त्यसको सबैभन्दा ठूलो प्रभाव तल्लो वर्गका विपन्न, मजदुर, अशक्तलगायतलाई परेको बताए । ‘लकडाउनका कारण मानिसलाई हिँडडुल गर्न प्रतिबन्ध लगाइयो, यसले गर्दा मजदुरी, ज्यालादारी काम गर्नेहरू झनै बेरोजगार भए, हिँडडुल गर्न पाएनन्,’ उनी भन्छन्, ‘पहिलादेखि नै स्रोतको अभाव हुनेहरूलाई झनै अभाव देखियो, जातीय हिसाबले पछाडि परेकाहरू झनै अछुतको व्यवहार भयो ।’

उनले नागरिक स्तर अनुसारका समस्या हुने र सोहीअनुसार सम्बोधन गर्नुपर्नेमा राज्यले समग्रलाई एकैखालको नीति बनाउँदा यस्तो खालको समस्या देखिएको उनको भनाइ छ । ‘राज्यले सबै नागरिकलाई एकै नजरमा हेर्‍यो, आफ्नो उपस्थिति जनाउने काम मात्रै गर्‍यो,’ मानवशास्त्री कैनी भन्छन्, ‘यता हरेकको विशिष्ट आवश्यकता हेरेर सरकारले सम्बोधन गर्न सकेन, यसले गर्दा राज्य र जनताबीच झनै दूरी बढ्ने काम भयो ।’

मानवशास्त्री कैनी व्यक्तिगत पक्ष हेर्दा भने यसले मान्छेलाई आत्मनिर्भर र समस्यासँग जुध्न सक्ने बानीको विकास गरेको बताउँछन् । ‘यसले कृषि क्षेत्रमा सकारात्मक सन्देश दियो, विदेशमा रहेका पनि स्वदेश फर्कने र केही गर्ने, स्वदेशका सहरमा भएका गाउँ फर्कने उद्यमशीलता विकास गर्ने मञ्चको सिर्जना गर्‍यो,’ कैनी भन्छन्, ‘यसले गाउँको महत्व बढायो। समस्यासँग सामाजिक रुपमा जुध्न सिकायो ।’ यसको प्रभावले मानिसमा आफैंले केही गर्नुपर्छ भन्ने भावना विकास भएको, मानिसले आफ्नो गाउँठाउँमा सम्भावना देख्न थालेको उनको भनाइ छ । यसका साथै मानिसको काम गर्ने तौरतरिकामा फेरबदल आएको समेत उनको भनाइ छ । Source: nagariknews.com