नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ पदावधि सकिएर बाहिरिएसँगै विद्युत् चुहावट ह्वात्तै बढेको छ।गत भदौ २९ देखि प्राधिकरण निमित्त कार्यकारी प्रमुखका भरमा चल्दा प्राधिकरणको कार्य प्रणालीमा ढिलासुस्ती हुँदा विद्युत् चुहावटसँगै बेलुकाको समयमा काठमाडौं उपत्यकामा बिजुली जाने समस्या पनि बढेको छ। घिसिङले आर्थिक वर्ष ०७६/७७ मा विद्युत् चुहावट १५.२७ प्रतिशतमा झारेका थिए।

तर गत साउनदेखि कात्तिकसम्मको अवधिमा विद्युत् चुहावट एकदेखि दुई प्रतिशतसम्म बढेको प्राधिकरणका एक कर्मचारी बताउँछन्। एकातर्फ बिजुली चुहावट ह्वात्तै बढ्नु र अर्कोतर्फ बेलुकाको समयमा पूर्वसूचनाबिनै बिजुली जान थालेसँगै सर्वसाधारणमा फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने मनोवैज्ञानिक त्रास देखिन थालेको छ।

गत सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पूर्वसूचनाबिना बिजुली जाने–आउने भएपछि सर्वसाधारणमा थप आशंका बढेको हो।

प्राधिकरणका प्रवक्ता मदन तिमिल्सनाले कोभिड १९ को कारण कर्मचारी नियमित रूपमा मिटर रिडिङ गर्न जान नसकेकोले विद्युत् चुहावट केही प्रतिशत बढी भएको बताए। ‘कोभिडको कारणले नियमित अनुगमन गर्न नसक्दा केही चुहावट बढेको छ,’ उनले भने, ‘कति बढेको छ भनेर भन्न गाह्रो भयो।’ प्राधिकरणका प्रवक्ता तिमिल्सिनाले टेक्निकल समस्याका कारण सोमबार र मंगलबार केही समय बिजुली अवरुद्ध भएको बताए। ‘अहिले फोर्स लोडसेडिङ गर्नुपर्ने कुनै अवस्था छैन,’ उनले भने, ‘अस्तिको घटना बाघ कराउनु र बाख्रा हराउनु जस्तै हो।’

प्रवक्ता तिमिल्सना मागअनुसार बिजुली आपूर्ति भइरहेकाले फोर्स लोडसेडिङ गर्न नपर्ने दाबी गर्छन्। ‘पूर्वसूचना जारी गरेर मर्मतसम्भार गर्नुबाहेक अन्य कुनै ठाउँमा लोडसेडिङ गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘मागअनुसार बिजुली उपलब्ध गराएकोले कुनै समस्या छैन।’

यसकारण जान्छ बिजुली प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक घिसिङ प्राधिकरणमा चेन अफ कमान्ड, बिजुलीको लोड व्यवस्थापन, चुहावट नियन्त्रण लगायत विविध पक्षलाई ख्याल नगर्दा बिजुली जाने समस्या आएको हुन सक्ने बताउँछन्। ‘अहिले बिजुलीको लोडकै अभावमा लोडसेडिङ गर्नुपर्ने अवस्था देखिँदैन,’ उनले भने, ‘उत्पादन भएको बिजुलीलाई सही प्रयोग गर्न नसक्दा समस्या देखिएको हो।’

गत सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पूर्वसूचनाबिना बिजुली जाने–आउने भएपछि सर्वसाधारणमा थप आशंका बढेको हो।

प्राधिकरणका प्रवक्ता तिमिल्सनाले पुस १५ गते बुधबार देशभर १४ सय १५ मेगावाट बिजुली खपत भएको बताए। त्योमध्ये प्राधिकरण मातहतका आयोजनाबाट पाँच सय मेगावाट, निजी क्षेत्रबाट तीन सय १० मेगावाट र भारतबाट ६ सय पाँच मेगावाट आयात  गरिएको थियो। बुधबारको २४ घन्टामा इनर्जी खपत  दुई करोड ५२ लाख युनिट छ। प्राधिकरण मातहतको आयोजनाको इनर्जी खपत ७० लाख ७७ हजार युनिट, निजी क्षेत्रबाट ६८ लाख युनिट र भारतबाट करिब एक करोड १३ लाख युनिट बिजुली आयात गरिएको थियो। nagariknews.com