बेनी नगरपालिका-५, भीरमुनीमा अवस्थित पौलस्त्य माविमा अभिभावक भेला सम्पन्न भएको छ । पौष १७ गते सम्पन्न भएको उक्त भेलाले विद्यालय व्यवस्थापन समितिको गठनको लागि शिक्षा नियमावली अनुसार अभिभावकहरूमध्येबाट २ जना पुरुष र २ जना महिला चयन गरेको छ ।

पुरुष अभिभावकबाट नवीन बानियाँ र रिद्धीबहादुर खड्का चयन भएका छन् भने महिला अभिभावकबाट दुर्गा बानियाँ र दुर्गा परियार चयन भएका छन् ।

विव्यस अध्यक्ष गोविन्द बानियाँको अध्यक्षता, बेनपा ५ का वडाअध्यक्ष लक्ष्मण बानियाँको प्रमुख आतिथ्यता र बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन सत्रमा प्रअ प्रेमबहादुर बानियाँले विद्यालयको आर्थिक प्रतिवेदन र अध्यक्ष गोविन्द बानियाँले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त भेलामा विद्यालयलाई नगद चन्दा प्रदान गर्ने कृष्णबहादुर बानियाँ, मोहन बानियाँ, गणेश बानियाँलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो भने विद्यालयको भौतिक विकासमा भूमिका खेल्ने खड्कबहादुर नेपालीलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

त्यसैगरी विद्यालयका शिक्षकद्वय देवीप्रसाद शर्मा र दुतबहादुर बानियाँलाई उत्कृष्ट शिक्षकका रुपमा सम्मानपत्रसहित सम्मान गरिएको थियो । कृष्ण कार्कीको अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ चयन गरेको उक्त भेलाको सञ्चालन शिक्षक देवीप्रसाद शर्माले गरेका थिए भने शिक्षक विना बानियाँले स्वागत मन्तव्य राखेकी थिइन् । भेलामा बोल्ने अतिथिहरू लगायत सबै बक्ताहरूले विद्यालयको विकासमा विद्यालय र समुदायको सुमधुर सम्बन्धले मुख्य भूमिका खेल्ने कुरामा जोड दिएका थिए ।