प्रधानमन्त्री केपी ओलीले प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टी गतिसाथ अघि बढेको दाबी गरेका छन् । ‘समस्या कहाँ नेर रहेछ, जाम कहाँ रहेछ, खिया कहाँ लागेको रहेछ भनेको त खिया लागेको दुईटा नटबोल्ट फुक्लिएको थियो पार्टी गतिसाथ अघि बढिरहेको छ ।’

यस्तै उनले प्रचण्ड-माधव समूहले पार्टी आधिकारिकता र चुनाव चिह्न दाबी गरेको कुराप्रति पनि आपत्ति जनाए । आफ्नै घरलाई आफैँ दाबी गरिराख्नु नपर्ने भन्दै उनले नेकपाको आधिकारिकता आफूहरुसँग नै रहेको संकेत गरे । ओलीले भने, ‘भेट्नो कुहिएर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने ! जसको कटेरो उसैको पुच्छर बाहिर भनेजस्तो !’

ओलीले नेकपामा असली र नक्कलीको प्रसंग चलिरहेको प्रसंग कोट्याउँदै नेकपा ‘बरमजियाको पेडा पसल’ जस्तो नभएको बताए । ‘बरमजियाको पेडा पसल हो र असली र नक्कली भनेर भन्नलाई ?’ प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरे । ‘अलि अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि मान्छे भेला पार्छ ।

उहाँहरुको हालत त्यही हो ।  उहाँहरुसँग राजनीति छैन । लोकतन्त्र छैन।’यस्तै ओलीले आफ्नै नेतृत्व क्षमताका कारण देश विदेशमा समेत चिनिएको र आर्थिक उन्नती तीव्र रुपमा बढेको दाबी गरे । पहिले नेपाललाई अन्तर्राष्ट्रिय मन्चमा नचिनिने तर अहिले सबैले चिन्ने उनको जिकिर थियो । ‘नेपालको प्रधानमन्त्री को हो भनेर भारतमा जोसुकैलाई सोधे पनि भन्न सक्छन्’, उनले भने ।