कोरोना संक्रमण नियन्त्रण गर्न सरकराले लकडाउन गरेसँगै बन्द रहेको पदयात्रा पर्यटनका लागि उत्कृष्ट गन्तव्य पर्यटकीय गाउँ घान्द्रुक माघ १ गतेदेखि खुला हुने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने पर्यटकीय गुरुङ गाउँ कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते लगाएको लकडाउनसंगै बन्द थियो ।

लकडाउन खुला रहे पनि पर्यटकका लागि बन्द रहेको घान्द्रुक ९ महिनापछि संचालनमा आउन लागेको हो ।अन्नपूर्ण संरक्षण क्षेत्रका अन्य पर्यटकीय पदयात्रा क्षेत्र खुल्दै जाने क्रममा घान्द्रुक पनि स्वास्थ्य सतर्कता अपनाएर खोल्ने निर्णय गरिएको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले जानकारी दिए ।

पर्यटकका लागि खुला हुनु अघि घान्द्रुक भ्रमणमा आएका पर्यटकलाई राति ज्वरो आएमा आइसोलेसनमा राख्न आइसोलेन घरको पनि व्यवस्था गरिएको गुरुङले बताए । ज्वरो आएका बिरामीको निगरानीका लागि २४ सै घण्टा स्वास्थ्यकर्मीको टोली खट्ने छ । गाउँमा तीन वटा एटेज बाथरुम भएको आइसोलेसन घरको व्यवस्था गरिएको उनले जानकारी दिए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।