पूर्व उपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली पद्धति र विधिलाई धुजाधुजा पार्ने व्यक्ति भएको बताएका छन् ।

खिया लागेको, नटबोल्ट खुस्किएको, कुहेको, भेट्नुबाट २ फल झरेको जस्ता कटाक्ष प्रधानमन्त्रीले गर्नु स्तरहीन चेतनाको उपज भएको रावलले बताए । ‘कुहेको त के पी ओली हुन्, खिया नलागेको प्रधानमन्त्री ओली भएर नै त १ वर्ष पनि प्रधानमन्त्री कार्यालय सिंहदरबार धाउन सकेका छैनन्,’ नेता रावलले भने ।  साढे चार सय बढी प्रवासी नेपाली एकता मन्चका नेता, अगुवा, कार्यकर्ताहरू सहभागी एक भर्चुअल कार्यक्रममा सम्बाेधन गर्दै रावलले उक्त कुरा बताएका हुन् ।

पुष ५ गत्ते कालो दिन रहेकाे भन्दै उनले थपे, ‘जब राष्ट्रपतिले समावेदनबारे दर्ता नगरी तल्लो स्तरको कुरा गर्नुभयो, त्यो बेला मैले कमरेड मदन भण्डारीलाई भावुक भएर सम्झेँ । के कमरेड मदनले यस्तै राष्ट्र प्रमुखको कल्पना गर्नु भएको थियो होला ? संविधानको मर्यादा राष्ट्रपतिले पालना गर्नुभएन ।’

८३ जना सांसदले संसद आह्वानका लागि समावेदन गर्दा अविश्वास प्रस्ताव ल्यायो भनेर कुप्रचार गरिएकाे भन्दै रावलले आफै प्रायोजित समाचार छाप्ने अनि आफै प्रचार गर्ने काम प्रधानमन्त्रीले साईबर सेना गठन गरेरै लागेकेा बताए ।

‘गोयाला संगको भेटपछि संयुक्त सैनिक अभ्यास गर्ने प्रयास भयो,’ उनले भने, ‘सीआईए का एजेन्ट मन्त्रिपरिषदमा थिए, एमसीसी पास गरेर देश डुबाउन खोज्छन् ।’ नेपालको कानुनभन्दा माथि रहने मिलेनियम च्यालेन्ज कर्पोरेशनको प्रस्तावित बुदा खतरनाक पक्ष रहेको दोहोर्याउँदै उनले  नेपाली राष्ट्रीयता र स्वतन्त्रता यसबाट खोसिने प्रस्ट रहेकाे बताए ।

नेता रावलले अदालत, निर्वाचन आयोग सबैले संविधान मान्छु भनेर सपथ खाएको हुनाले निर्णय तलमाथि नहुने विश्वास समेत व्यक्त गर्दै विद्रोहमा जान नपर्ने बताए ।