गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन आज  (मंगलबार) सुरु हुँदै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीले उक्त अधिवेशन बाेलाउन माग गरेका थिए ।

सत्तारूढ दल नेकपा विभाजनकाे असरस्वरूप अन्य केही प्रदेशमा सरकार ढाल्ने वा बदल्ने खेल देखिएकाे छ । तर गण्डकीमा त्यस्ताे अवस्था नदेखिएपछि अधिवेशन बाेलाउन सबै दल सहमत रहेकाे बताइएकाे छ । विशेष अधिवेशनमा कोरोना भाइरस संक्रमणकाे अवस्था, जनजीविकाका सवाल लगायत विषयमा छलफल हुने बताइएकाे छ ।

प्रदेशमा कोरोना भाइरस महामारीका वेला प्रदेश सरकारले नागरिक उत्तरदायित्व बहन गर्न चुकेकाे, उचित उपचार नपाएर नागरिकहरूले अकालमा मृत्युवरण गर्न बाध्य भएको तथा जनसरोकारका अन्य विषय पनि सरकारले सम्बोधन गर्न नसकेकोजस्ता विषय उठाएर कांग्रेस र जसपाका सांसदले विशेध अधिवेशन आह्वानका लागि गएकाे मंसिर ३० गते निवेदन दिएका थिए ।

नेपालकाे संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभामा कायम कुल सदस्य संख्याको एकचौथाइ सदस्यले विशेष अधिवेशन बाेलाउन लिखित अनुरोध गरेमा त्यस्ताे अधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेकाे छ ।