सिड्नीको नजिकै रहेको वाटामोल्ला पार्कमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा एक जना २७ वर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको छ।  मृतक झापा घर भएका सचित विमली रहेको अस्ट्रेलियाली टेलिभिजन च्यानल नाइन न्युजले जनाएको छ। ‘भाइ घुम्न गएको समेत उनको दिदीलाई थाहा थिएन, राति प्रहरीले घर आएर दु:खद् समाचार सुनाएपछि मात्र थाहा भयो’, एक आफन्तले भने।

दिदीसँगै सिड्नीको अर्वनमा बसोबास गर्दै आएका सचित साथीहरूसँंग वाटामोल्ला पार्क घुम्न गएका थिए। त्यही क्रममा पौडी खेल्दा डुबेर उनको मृत्यु भएको अस्ट्रेलियाली टेलिभिजन नाइन न्युजले जनाएको छ।  सन् २०१९ को जुलाइमा मात्र अस्ट्रेलिया आइपुगेका विमली यहाँको प्रसिद्ध मक्वारी विश्वविद्यालयमा आइटी अन्तर्गत मास्टर्स डिग्री अध्ययनरत थिए।

वर्षेनी पानीमा डुबेर ज्यान गुमाउने नेपाली विद्यार्थीहरूको संख्या बढिरहेकोबेला यस्तो दुर्घटनाले फेरि नराम्रो सन्देश दिएको एनआरएन अस्ट्रेलियाका महासचिव  ज्ञानेन्द्र रेग्मीले बताए।  ‘हामी खोला नालामा पौडी खेलेका मानिस समुन्द्र र त्यसको बहावसँग अभ्यस्त छैनौं। तर पनि दुस्साहस गर्छौं जसको परिणाम दु:खद र भयावह हुने गरेको छ,’ रेग्मीले भने। setopati.com