बेवारिसे मानव देहको अन्त्येष्टिमा सक्रिय सपना रोका मगरलाई म्याग्दी बचत तथा ऋण सहकारी संस्था काठमाण्डौले सम्मान गरेको छ । १३औं वार्षिक साधारणसभाको अवसरमा बिबिसीले तयार पारेको विश्वका प्रभावशाली महिलाको सूचीमा परेकी सामाजिक अभियान्ता रोकालाई संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचन र अध्यक्ष थदेवी पुनले दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।

साधारणसभाको उद्घाटन गदैं संस्थाका बरिष्ठ सल्लाहकार डा. शेरचनले अभियान्ता रोकाले सञ्चालन गर्ने बेवारिसे र बेसहाराको उचित संरक्षण र ब्यवस्थापनमा आवश्यक सहयोगको प्रतिबद्धता समेत जनाए । ‘म्याग्देली चेलीलाई आवश्यक सहयोग गर्न तयार छौ,‘तपाईले प्राप्त गर्नुभएको सम्मानले जन्मभूमिलाई पनि चिनाएको छ’ शेरचनले भने।

सोही अवसरमा बोल्दै अभियान्ता रोकाले स्वास्थ्यमा समस्याको बाबजुट म्याग्देली आवद्ध रहेको संस्थाको कार्यक्रममा सहभागी हुन आएको बताईन्।‘म्याग्देलीको नाताले यो सम्मान गरेकोमा उत्साहित छु,‘मैले प्राप्त गरेको सम्मानको परिणामुखी काम गर्न अझै बाँकी छ’सपनाले भनिन्।

साधारणसभाको अवसरमा राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक तथा संस्थाका कानुनी सल्लाहकार डिल्लीराम तिवारीले मन्तब्य राखेका थिए। कार्यक्रममा बचत तथा कर्जामा असल तथा उत्कृष्ट कारोवार गर्नु हुने इन्द्रमाया महर्जन, चन्द्रशेखर शर्मा,ढकबहादुर छन्त्याल,शम्भु तामाङ,घनश्याम उपाध्याय र दिलमाया भण्डारीलाई कदर पत्र प्रदान गरिएको थियो भने नयाँ शेयर सदस्य मुदी,चेचुङका तिलकुमारी घर्तीलाई शेयर प्रमाण पत्र प्रदान गरियो।

आर्थिक वर्ष २०७६÷७७ मा बचततर्फ ४५ करोड ३८ लाख कर्जा लगानीः ४१ करोड ७५ लाख रहेको भने कूल पूँजी ७ करोड ५२ लाख रहेको सहकारीमा १६८० सदस्य रहेको यस संस्थामा ८७१ महिला र ८०९ पुरुष रहेका छन्। कार्यक्रममा स्वर्गिय संस्थाका उपाध्यक्ष कृष्णबहादुर केसी,शेयर सदस्य श्याम शेरचन लगायत दिवंगत शेयर सदस्यका अभिभावकहरुको निधनमा मौनधारण गरिएको थियो ।

संस्थाका सचिव तथा प्रबन्ध संचालक दिपबहादुर छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा स्वागत सहकोषाध्यक्ष छकप्रसाद शेरचन, संचालक समितिको प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेल,लेखा समितिको वार्षिक प्रतिवेदन समितिका संयोजक चित्रबहादुर पुनले पेश गरेका थिए । सहकारीमा म्याग्दी जिल्लाका ६ वटै स्थानीय तहका ४५ वडाका सदस्य छन् ।