भारतको बिहार राज्यको पटनामा एक बैंकमा एउटा लाश आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्मचारीको सातो गयो । पटनाछेउको शाहजहाँपुर थाना क्षेत्रको सिगरियावांमा केनरा बैंकको शाखामा लाश पैसा लिन पुगेको हो ।

यहाँका महेश यादवको मंगलबार बिहान मृत्यु भएको थियो । मृत्युपछि गाउँलेहरुले अन्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् । यो कुराले रिसाएका गाउँलेले यादवको लाश लिएर बैंकमा पुगे र लाशलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टासम्म बैंकमा महेशको लाश त्यत्तिकै रह्यो ।

गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् । अन्ततः म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर विवाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको लाश लिएर अन्तिम संस्कारको लागि गए । खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् । बैंक खातामा उनले आफ्नो कुनै हकदार पनि उल्लेख गरेका थिएनन् र उनको केवाइसी फाराम पनि जम्मा भएको थिएन । त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन मानेको थिएन । dcnepal.com