मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ १० महिनापछि संचालनमा आएको छ । कोभिड–१९ महामारीका कारण गत वर्ष चैतदेखि बन्द हुँदैआएको मुक्तिनाथ मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा भक्तजनका लागि खुला गरिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले मुस्ताङी सहयोगले मुक्तिनाथधाम दर्शनका लागि खुला भएको बताए ।

मुस्ताङ जिल्ला टेक्न तथा मुक्तिनाथ दर्शनका लागि मुक्तिनाथ विकास समितिको निर्देशनमा कोरोना रोकथाम तथा प्रतिकार्यका लागि मुक्तिक्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षालाई मजबुद पािरएको जनाइएको छ । विदेशी पर्यटकलाई ७२ घण्टे पिसिआर रिपोर्ट अनिवार्य गरेको छ भने आन्तरिक पर्यटकले कोभिड–१९ विरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ ।

यस्तै, मुक्तिनाथ मन्दिरका पुजारी, आनीझुमा, सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक स्वास्थ्य मापदण्ड कायम गर्न भनिएको छ । मन्दिरमा १ घण्टाभन्दा बढी समय बस्न पाइने छैन ।समितिले कोभिड–१९ को जोखिम हुन सक्ने भन्दै मुक्तिनाथ दर्शनका लागि पुग्ने भक्तजनलाई १०८ धारा र कुण्डमा स्नान गर्न रोकेको छ । मुस्ताङमा वार्षिक ६० हजार विदेशी पर्यटक र ३ लाख आन्तरिक पर्यटक घुम्न जाने गरेको तथ्यांक छ ।