बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । संघीयता कार्यान्वयनसँगै जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङमा कृषिसँग सम्बन्धित कार्यालय थिएन् । कृषि ज्ञान केन्द्र पर्वतबाट प्रवाह हुने सेवाले किसानको पहुँचमा पुग्न नसकेको भन्दै बागलुङमै ज्ञान केन्द्र सञ्चालनमा ल्याईएको हो ।
गण्डकी प्रदेश सरकारले सबै जिल्लामा कृषि ज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय गरेसँगै बागलुङमा कार्यालय सञ्चालनमा आएको हो । बागलुङमा साविक कृषि विकास कार्यालयको भवन बागलुङ नगरपालिकाले प्रयोग गरेकाले सोही भवनको एउटा कोठाबाट कार्यालय सञ्चालन भएको छ ।
प्रदेश सरकारले भवन खाली गरिदिन नगरपालिकालाई पत्राचार गरेको भएपनि भवन खाली नभएपछि एउटा कोठाबाट कार्यालयको सुरुवात भएको हो । कृषि ज्ञान केन्द्र पर्वतको सम्पर्क कार्यालयको रुपमा रहेको ठाउँमा कृषि ज्ञान केन्द्र बागलुङको स्थापना भएको कार्यालय प्रमुख भानु भट्टराईले जानकारी दिए ।
बागलुङ पर्वत हेर्ने गरी पर्वतमा कृषि ज्ञान केन्द्र राख्दा यहाँका किसानले झन् बढि सास्ती खेप्नुपरेको भन्दै आलोचना भएपछि गण्डकी प्रदेश सरकार ११ जिल्लामै कृषि ज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय गरेअनुसार नै बागलुङमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना भएको उनको भनाई छ ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशमा वरिष्ठ कृषि अर्थविज्ञको रुपमा काम गर्दै आएका भट्टराईलाई पुस २० गतेदेखि कृषि ज्ञान केन्द्र बागलुङको प्रमुखको रुपमा खटाईएको छ । एउटा कोठामा रहेको सम्पर्क कार्यालयमा अब १२ जना कर्मचारीको दरबन्दीसहित कृषि ज्ञान केन्द्र स्थापना भएको छ । अहिले कार्यालय प्रमुखसहित तीन जना मात्रै कर्मचारीले काम सुरु गरेका छन् । बागलुङ नगरपालिकाले भवन खाली नगरीदिएपछि एउटै कोठाबाट कृषि ज्ञान केन्द्रको सेवा सुरु गरेको उनले बताए ।
ज्ञान केन्द्र स्थापना भएपछि किसानलाई सहयोग पुग्ने छ । प्रदेश सरकारले सञ्चालन गर्ने कार्यक्रमहरु, प्रविधि तथा प्राविधिक ज्ञान हस्तान्तरणका लागि सहज हुने उनले बताए ।