म्याग्दीको सदरमुकाम बेनीमा तीन बालक बेवारिसे अवस्थामा भेटिएका छन्। जिल्लाको मंगला गाउँपालिका–१ थाईवाङ घर बताउने १२ बर्षिय आशिष केसी, बरंजाको मिठौला घर भएका ८ बर्षिय कमल किसान र कुहुँ घर बताउने ९ बर्षिय सुरेश विकको अभिभावक पहिचन नहुदाँ समस्या भएको हो ।

एक साता देखि बेवारिसे अवस्थामा भेटिएका उनीहरुले होटलमा खान माग्ने, घर जान नमान्ने जस्ता गतिविधि देखाएपनि अभिभावकको पहिचानमा समस्या भएको संगमचोकका रुबी लाईभ किचनका सञ्चालक अर्जुन भण्डारीले बताए । ‘दैनिकजसो आउँछन्, खाना दिएर पठाउँछु, उनीहरुलाई परिवारको संरक्षण देखिएन’ भण्डारीले भने ।

तीनजना मध्ये आमाले दोस्रो विवाह गरेको, मृत्यु भएको र घरमा बस्ने अवस्था नभएको समस्या सुनाउने गरेको बताए । दैनिकजसो होटलमा आउन थालेपछि समस्या खोतल्दा भाबुक भएको भण्डारीले बताए ।

‘तीनै जना बालकलाई उचित संरक्षणको आवश्यक छ,‘बाध्य भएर गलत गतिविधिमा समेत संलग्न हुनसक्छन्’ उनले भने।बेवारिसे अवस्थामा भेटिएका बालकको उद्धार गरी संरक्षणको व्यवस्था मिलाउन समेत सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।

बेनीबजारमा पछिल्लो समय ग्रामिण क्षेत्रबाट भागेर आउने बालबालिकाहरुको खोजी गरी परिवारको जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा भेटिए तत्काल प्रहरीको पैसा नलाग्ने नं ‘१००’ मा खबर गर्न सबैलाई आग्रह गरेका छन्।