कैलालीको टीकापुर–८ सत्तीका अनिष चौधरी दृष्टिविहीन हुन् । उनी कर्णाली मावि टीकापुर–७ सत्तीमा कक्षा १० मा अध्ययनरत छन् । अनिषले आफ्नो कमजोरीलाई शक्तिमा बदल्दै उज्यालो शिक्षा आर्जन गरिरहेका छन् । अनिष पढाइसँगसँगै विद्यालयमा हुने खेलकूद तथा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सहभागी हुन्छन् ।

घरबाट आफैँ हिँडेर विद्यालय पुग्ने अनिषको उत्साह र पढाइमा लगाव देखेर उनका साथीभाइ, आफन्त र शिक्षक पनि दङ्ग छन् । अनिषले जुन काममा हात हाल्छन्, त्यहाँ सफलता पाउँछन् । अनिषका कक्षाका साथी सुजित चौधरी उनी आफूहरुभन्दा पढाइमा राम्रो रहेको बताउँछन् । “अनिष धेरै मेहनती छन् । लगन भए पढ्न, काम गर्न सकिन्छ भन्ने उनी प्रमाण हुन्”, सुजित भन्छन्, “उनीमा हामीभन्दा बढी बुझ्ने क्षमता छ । हरेक कुरालाई हामीभन्दा बढी लगाव दिएर पूरा गर्छन् ।” दृष्टिविहीन अनिष गीत, कविता गाउने र लेख्ने काम पनि गर्छन् ।

 

आफूले लेखेको कविता, गीत कक्षामा सबैलाई सुनाउँछन् । अन्य विद्यार्थीसँगै बसेर पढ्ने अनिषलाई कक्षाकोठामा पढ्न अलि अप्ठ्यारो हुन्छ । “कहिलेकाहीँ सेतो बोर्डमा लेखेको कुरा सार्न गाह्रो हुन्छ । कुनै–कुनै सरले लेखेको कुरा भन्दिनुहुन्न”, उनी भन्छन्, “त्यस्तो बेला अलि गाह्रो हुन्छ । ब्रेललिपिमा चित्र बनाउन, गणित, विज्ञान र जनसङ्ख्याको हिसाब गर्न गाह्रो हुन्छ । साथीहरु निकै सहयोगी छन्, त्यस्तो समयमा साथीहरुले सघाउँछन् ।”

विद्यालयले अनिषजस्ता विद्यार्थीलाई अध्ययनमा सहज होस् भनी अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गरेको छ । “उनी असल विद्यार्थी हुन् । उनी नियमित विद्यालय आउने, विद्यालयका हरेक अतिरिक्त क्रियाकलापमा सहभागी हुने गर्छन्”, विद्यालयका सहायक प्रधानाध्यापक वीरेन्द्र शाह भन्छन्, “हाम्रो विद्यालयमा स्रोत शिक्षक प्रेमबहादुर चौधरी पनि हुनुहुन्छ । उहाँले अपाङ्गता भएकाहरुका समस्या समाधानमा सघाउनुका साथै उनीहरुको शैक्षिक विकासमा योगदान दिइरहनुभएको छ ।”

कर्णाली माविमा अपाङ्गता भएका ११ दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । विद्यालयमा उनीहरुका लागि आवासीयसहितको सबै सुविधा छ । “खान बस्न, सबै आवश्यक कुरा यहीँ व्यवस्था गरिएको छ”, स्रोत शिक्षक चौधरीले भने, “दृष्टिविहीन बालबालिकालाई शुरु–शुरुमा घुलमिल हुन अप्ठ्यारो हुन्छ ।