म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा माटो तथा हावापानीका आधारमा उत्पादन गर्ने माटो परीक्षण शिविर सुरु भएको छ ।

कृषि उपज र पशुजन्य उत्पादनका लागि प्रसस्तै सम्भावना भएको गाउँपालिका भित्र भौगोलिक अवस्थिती र माटो तथा हावापानी अनुसारको वडा अनुसार कृषि उत्पादन केन्द्र ‘पकेट क्षेत्र’ घोषणा गरी उत्पादनमा अनुदान सहित प्रोत्साहन गर्न शिविरको सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘भुगोल अनुसार फरक उत्पदान हुन्छ, अव माटो अनुसारको लगानी र उत्पादनमा जोड दिन्छौ’ सुबेदीले भने । वडाहरुमा उत्पादन हुन सक्ने कृषिजन्य उत्पादनको पहिचान पछि थप योजना बनाउने सुबेदीले बताए । ‘जहाँ जे हुन्छ त्यसकै लागि प्रोत्साहन गर्ने नीति अनुसार माटो परीक्षणको काम भइरहेको बेगका वडा अध्यक्ष बिल फगामीले बताए ।

गाउँपालिका भित्र वडा नं १ बेगखोलामा फलफुल बालीका लागि राम्रो हावापानी रहेको छ भने अन्य ७ वटै वडामा समेत नगदे र फलफुल बाली, पशुपालन लगायतका उत्पादन हुन्छ । गाउँपालिकाले कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

‘कृषि र पशुपालनको पकेट क्षेत्रमा लगानी भित्राउन पनि सजिलो हुन्छ,‘माटो अनुकुलको उत्पादनले कृषिकलाई फाइदैफाईदा हुन्छ’ अध्यक्ष भण्डारीले भने । माटो परीक्षण शिविरमा स्थानीयको उत्साहजनक सहभागिता रहेको छ । शिविरमा गाउँपालिकाकी कृषि प्राविधिक पुष्पा शर्मा लगायतको टोली खटिएको छ ।