गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई लाग्न आग्रह गरेका छन् । राष्ट्रिय एकता दिवस पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
गुरुङले पृथ्वीनारायण शाहले शुरु गरेको भौगोलिक एकीकरणको जगमा उभिएर समाजवादतर्फ उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ पार्नुपर्नेमा जोड दिएका छन् । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिँदै गुरुङले नेपालको गौरवशाली इतिहासको महत्वपूर्ण घटनाक्रमको रुपमा रहेको नेपालको एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह भएको उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ,“उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातिय, साँस्कृतिक लगायत अन्य विविधताका बीच मजबुत एकताको आधार तयार गर्नुभयो । त्यही आधारमा टेकेर विभिन्न जनआन्दोलन, जनक्रान्ति लगायतका विभिन्न राजनीतिक संघर्षमार्फत हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेका छौं ।”