आज झाँक्रीपानी गाउँ चम्किइसक्यो। हिमाली सौन्दर्य, मगर संस्कृति र मीठो खाना पाइने झाँक्रीपानीमा एउटा गज्जबको आकर्षण पनि छ– चिनाकोट।

मंगला गाउँपालिका–३, म्याग्दीमा अबस्थित झाँक्रीपानी (२,२८० मिटर) कै उचाईमा छ चिनाकोट। गाउँबाट आधा घन्टा हिँडेमा कोटमा पुगिन्छ। त्यहाँबाट धौलागिरि, चुरेन, गुर्जा, मानापाथी, अन्नपूर्ण, निलगिरि र माछापुच्छे« लगायत हिमाल छर्लङ्ङ देखिन्छन्।

डाँडामा ठूला ढुङ्गा र रुख छन्। पुराना घरका भग्नावशेष पनि। बेहुलाबेहुली ढुङ्गा, रानीले कपाल कोर्दा बस्ने ढुङ्गालगायत छन्। स्थानीय संस्कृतिविद् अमरबहादुर रोकाका अनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने बेलामा चौबीसे राज्यबाट दलबलसहित ‘चिना’ नाउँकी रानी भागेर अग्लो डाँडाको धुरीमा बसेकी थिइन्।

‘चिना रानी बसेको डाँडा भएकाले पछिपछि चिनाकोट भन्न थालियो’, उनले भने, ‘रानी ज्यान जोगाउन यहाँ बसेको जनश्रुति छ। तर, कुन राज्यकी रानी हुन् भन्ने खुलेको छैन।’

चिनाकोट मुन्तिर बाहुनकोट छ। तिनताका बाहुनहरूले रानीका लागि त्यहाँ खाना बनाएर चिनाकोटमा पु¥याउने गरेको बुढापाका बताउँछन्। त्यस्तै बाहुनकोट मुन्तिर बाहुन पँधेरा छ, त्यहीँको पानी लगेर खाना पकाइन्थ्यो।

ncell in

चिनाकोटमा भेटिएका खुँडा र तरबार लगायतका हतियारहरू थर्पु कोटघरमा सुरक्षित राखिएको छ।

बेहुलाबेहुली ढुङ्गाको नामाकरण पछि भएको हो। टाढाबाट झलक्क हेर्दा घुम्टो ओढेकी बेहुली र बेहुलाजस्तै देखिने भएकाले ‘बेहुलाबेहुली’ भनिएको।

संस्कृतिविद् रोकाले चिनाकोट क्षेत्र अध्ययन गरेर विसं २०७६ सालमा ‘बरंजा र ५४ कुरियाको चिनारी’ नामक पुस्तक प्रकाशन गरेका छन्। चिनाकोटको थप अध्ययन आबश्यक देखिन्छ।

‘यसमा गहिरो अध्ययन आबश्यक छ’, संस्कृतिविद् रोका भन्छन्, ‘यसमा मंगला गाउँपालिका, पुरातत्व विभाग र सरकारले ध्यान देओस्।’

स्थानीय गाउँपालिकाले डाँडा चढ्ने सिँढी निर्माण र गोरेटो सुधार गरेको छ। डाँडाको थाप्लोमा प्रतिक्षालय बनाइएको छ।

झाँक्रीपानी सामुदायिक होमस्टेका अध्यक्ष कमल रोकाका अनुसार झाँक्रीपानी जन्मथलो भएर हाल बेलायतमा बसोबास गर्दै आएकाहरूको सहयोगमा चिनाकोटमा प्रतिक्षालय बनाइएको छ।

‘झाक्रीपानी, चिनाकोट, टोड्केजस्ता गन्तव्य हाम्रो प्राथमिकतामा परेका छन्’, गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसी भन्छिन्, ‘हामी पूर्वाधार विकास र प्रवद्र्धनात्मक काम गरिरहेका छौं।’

घुम्नलायक छ चिनाकोट। झाँक्रीपानीका प्रवद्र्धक एवं म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्यले पनि चिनाकोटमा क्याम्पिङ गरेर रात विताउने योजना स्थानीय अगुवा दपर्ण रोकालाई सुनाइसकेका छन्।

‘स्वच्छ हावापानी भएका गाउँघर, त्यसमा पनि ऐतिहासिक सम्पदाको भ्रमणबाट धेरै ज्ञान लिन सकिन्छ’, शाक्य भन्छन्, ‘झाँक्रीपानीलाईझैं चिनाकोटलाई पनि चम्काएरै छाड्छौं।’

चिनाकोट घुम्न जाँदा खाना र बासको समस्या छैन। झाँक्रीपानीमा सामुदायिक होमस्टे सञ्चालित छ। मगर, विक, नेपाली, किसान, बाहुन, क्षेत्री, थकाली, नेवार र छन्त्यालका ६० घर रहेको गाउँका २२ घरमा होमस्टे गराइन्छ।

होमस्टेमा सस्तो छ। खानाको १५० रुपैयाँ, चियाको २० रूपैयाँ, रक्सी बोतलको ६० रुपैयाँ, खाजाको १०० रुपैयाँ मात्र पर्छ।
कसरी पुग्ने ?

काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घन्टा। बेनी–झाँक्रीपानी २४ किमि, जीपमा दुई घन्टा। बेनीबाट दिउसो ४ बजे बस छुट्छ। बस दुर्दीसम्म पुग्छ, दुर्दीबाट ४५ मिनेट हिँडे झाँक्रीपानी पुगिन्छ। जीप झाँक्रीपानीसम्मै पुग्छ। झाँक्रीपानीबाट आधा घन्टा हिँडेमा चिनाकोट।  Source: setopati.com

सम्पर्कः
दपर्ण रोका–९८४९९१५३११
कमल रोका–९८४७४४८७२९
राजेश शाक्य–९८५७६२४६०१