‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’को ‘पिपल्स च्वाइस अवार्ड’ भलिबलकी राष्ट्रिय क्याप्टेन अरुणा शाहीले जितेकी छन्। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार राजधानीमा आयोजना गरेको पुरस्कार घोषणा समारोहमा म्याग्दी रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले बाजी मारेकी हुन् ।

एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा शाहीले मनोनयनमा परेका पौडीबाज गौरिका सिंह,कराँतेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी लाई पछि पारिन् ।

गत वर्ष उनीहरूले खेलमैदानमा हात पारेको सफलता र चर्चाका आधारमा मनोनयनमा परेका थिए । विजेता शाहीले मोटरसाईकल सहित नगद १ लाख समेत हात पारेकी छन् । शाहीलाई विजय बनाउन म्याग्दीका भलिबल खेलाडी तेजेन्द्र बानियाँको संयोजकत्वमा अभियान समेत सञ्चालन गरिएको थियो । त्यस्तै शाहीको कप्तानीमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई ’टिम अफ दि इयर’ को अवार्ड प्राप्त गरेको छ ।

शाहीले भलिबलमा नेतृत्व गरेपछि साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जिताउन सफल भएको थियो ।

यसैबीच ‘पिपल्स च्वाइस अवार्ड’बाट सम्मानित शाहीले यो जित सम्पूर्ण खेलप्रेमी र विषेशगरी म्याग्देली जनतामा सर्मपित गरेको बेनीअनलाइनलाई बताईन् । उनले अभियानमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिईन् । सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्। अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि बल्ल अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जितेको थियो ।