कोरोनाले बन्द भएको भुरुङ तातोपानी कुण्ड खुल्ला, पर्यटकलाई शुल्क नलाग्ने

0
249
Hot Spring at Tatopani

कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेकोउत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्ड स्नान गर्नका लागि खुल्ला गरिएको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धाराको मर्मत तथा सरसफाईसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई जनस्वास्थ्यको मापदण्डको पालनासँगै खुल्ला गरिएको हो ।

गएको बर्षको चैत्र महिनामा कोरोनाको संक्रमण बढेपछि बन्द भएको कुण्ड सञ्चालनमा आएपछि स्नान गर्न आउनेको चहलपहल बढेको कुण्डका व्यवस्थापक समितका अध्यक्ष अमृतमान शेरचनले बताए । चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको अध्यक्ष शेचरनको भनाई छ ।

उनका अनुसार हाल पर्यटकले निशुल्क स्नानको सुविधा रहेको छ। कोरोनाका कारण बन्द हुनु अगाडी कुण्डमा स्नानका लागि आन्तरिक पर्यटकलाई ५० तथा बाह्य पर्यटकलाई१५० प्रवेशशूल्क तोकिएको थियो । कुण्डमा प्रवेशशूल्क र होटल सञ्चालन गर्न बार्षिक करिब ६० लाखमा ठेक्का लगाउने गरेको थियो ।

कुण्डबाट हुने आम्दानी तातोपानीस्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका साथै स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा खर्च गर्ने गरिएको अवस्थामा अब अर्को ब्यवस्थापन नभएसम्म स्थानीय ब्यवस्थापन समिति निशुल्क गर्ने बताइएको छ । पर्यटकले तातोपानीको धारा र कुण्डमा स्नान गर्ने गरेका छन् । कुण्ड खुल्ला गरेपछि होटलमा समेत पहलपहल सुरु भएको छ ।

बिहान ६ः०० देखि साँझ ८ः०० बजेसम्म स्नान गर्न सकिन्छ । यसबीच अन्नपूर्ण गाउँपालिका भित्र रहेका अन्य तातोपानी कुण्ड समेत पर्यटक र स्थानीयले न्यूनतम स्वास्थ्यको मापदण्ड पालना गरी प्रयोग गर्ने पाउने भएका छन् । स्नान गर्ने बेलामा मास्क अनिवार्य गरिएको छ भने भिडभाड नगरी स्नान गर्ने ब्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply