गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले विपदको पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठुलो जनधनको क्षति हुनवाट जोगाउन सकिने बताउनुभएको छ ।

भुकम्प सुरक्षा दिवसको अवरमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले बिहीवार आयोजना गरेको डेमोस्ट्रेशन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले २०७२ सालको भुकम्प पछि मुलुकमा ठुलो धनजनको क्षति पुगेको बताउँदै मन्त्री लम्सालले अब बन्ने संरचनाहरुलाई भुकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय तहहरुले कडाईका साथ भुकम्प प्रतिरोधी संरचना बनाउन मापदण्ड लागु गर्नुपर्ने बताउँदै परम्परागत शैलिमा बनाईएका भौतिक पूर्वाधारहरुलाई विस्थापित गर्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा विपद् उद्धार ईकाई ‘रेस्क्यु युनिट’ स्थापना गर्न थालेको बताउनुभयो । जतिवेला विपद् आइपर्छ, त्यतिवेला तत्काल उद्धार कार्यमा खटिन सक्नेगरी तयारी अवस्थामा राख्न आवश्यक स्रोतसाधन सहित रेस्क्यु युनिट खडा गरिने बताउनुभयो । उहाँले विपद न्यूनिकरणमा तीनवटै सुरक्षा निकायले प्रभावकारी भूमिका खेलेको भन्दै प्रसंसा समेत व्यक्त गर्नुभयो ।

मन्त्री लम्सालले यस्ता खालका डेमोस्ट्रेशन कार्यक्रम जिल्लाका सातवटै स्थानीय तहमा पुगेर नागरिकहरुको सहभागितामा प्रदर्शन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नभुयो-‘भुकम्प सचेतना कार्यक्रम सवै स्थानीय तहमा गर्नुपर्छ, तबकी नागरिकमा सचेतना बृद्धि हुनुका साथै भविष्यमा ठुलो क्षति हुनवाट जोगाउँछ ।’

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आवश्यक स्रोत साधनले भ्याएसम्म पर्वतमा उद्धार कार्यका लागि सुरक्षा निकाय तैनाथी अवस्थामा रहेको बताउनुभयो । उहाँले कुनैपनि ठाउँमा घटना हुने वित्तिकै वा हुने सम्भावना देखिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न समेत आग्रह गर्नुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनीले अहिले स्थानीय तहहरुमा भुकम्प प्रतिरोधि संरचना निर्माणका लागि जिम्मेवारी आएको बताउनुभयो । उहाँले प्राविधिकहरुले गरेको नक्सापास बिना कुनैपनि संरचना नबनाउन आग्रह गर्दै त्यसका लागि जनप्रतिनिधिहरु जिम्मेवार बन्न जरुरी रहेको बताउनुभयो ।


कार्यक्रममा भुकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख युक्तप्रसाद शर्माले जिल्लामा ०७२ साल पछिको भुकम्पका कारण भत्किएका विद्यालयका संरचनाहरुको पुर्ननिर्माण प्रभावकारी रुपमा अघि बढेको बताउँदै पछिल्लो समय निर्माण भएका सवै संरचनाहरु पुणर् रुपमा भुकम्प प्रतिरोधि भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारी र संचालन सहायक प्रमुख जिल्ला अधिकारी विमल गौतमले गर्नुभएको थियो ।सो अवसरमा शसस्त्र प्रहरी बलको चण्डिका गणका प्रहरीहरुले भुकम्प र भुकम्प पछिको उद्धारकार्यको डेमोस्ट्रेसनगरेर देखाएका थिए ।