नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको भारतीय मिडियाले जनाएका छन् । मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवान अन्तर्गतको नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी भएको भारतीय मिडिया नवभारत टाइम्सले दाबी गरेको हो ।

तर नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले डिजेल चोरीको जानकारी प्राप्त नभएको बताए ।पाइपलाइनबाट नियमित रुपमा डिजेल आपूर्ति भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

पाइपलाइनमा आक्रमणलगत्तै भारतीय आयल कर्पोरेसनको मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएको र पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको निगमको दाबी छ । पाइपलाइन आक्रमणबाट भएको क्षति नेपालले व्यहोर्न नपर्ने पनि निगमले जनाएको छ ।