पर्वतको जलजला गाउँपालिका स्तरोन्नतीको पहल थालिएको छ । नगरपालिकामा स्तरोन्नति गर्न गाउँपालिकाले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पालिका मुकाममा आइतबार सम्पन्न नवौं गाउँसभाले हाल भाडाको घरमा कार्यालय रहेको ठाउँभन्दा करिब १ सय ५० मिटरमाथि करिब ११ रोपनी जग्गा प्राप्त गर्ने निर्णय पनि गरेको छ ।

प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियाका निम्ति कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मेवारी दिएको थियो। करिब ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निःशुल्क प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाउने गाउँसभाले सर्वसम्मत निर्णय गरेको हो । जलजलाको कार्यालय हाल वडा नम्बर ४ को लामाखेतमा छ । घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ ।