नेपालमा पनि बेलायतमा देखिएको जस्तो नयाँ प्रजातिको भाइरस देखिएको छ । बेलायतबाट नेपाल आएका तीनजना नेपालीमा नयाँ ‘भेरियन्ट’ भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बेलायतबाट केही दिनअघि नेपाल आएकाहरुलाई निगरामीमा राखिएको र फर्किएकाहरुमध्ये ६ वटा नमूनाहरुमा सार्स कोभ दुई परिक्षणको नतिजा परिक्षण गर्दा ३ वटा नमूनामा एस जीन तार्गेट नेगेटिभ देखिएको थियो । उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भए नभएको बारेमा पुष्टि गर्नको लागि पुस २७ मा नमूना हङकङ पठाईएकोमा आज प्राप्त रिपोर्टमा ३ जनामा उक्त नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमा २८ वर्षिष्या महिला, ३२ वर्षिय पुरुषको हाल आरटी पीसीआर नेगेटिभ आईसकेको छ । ६७ वर्षका पुरुषको पोजेटिभ नै रहेको छ । तर उनमा लक्षण भने देखिएको छैन ।

यसैबीच, मन्त्रालयले रोगको रोकथामको लागि नेपालमा खोप उपलव्ध नभएसम्म सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । यसअघि सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डलाई पालना गर्न प्रवक्ता डा.जागेश्वर गाैतमले आग्रह गरेका छन् ।