म्याग्दी जिल्लाभित्रका साना-ठूला खोलानदीबाट विद्युत उत्पादनको सम्भावनाले धेरै आयोजनाले चासो देखाएका छन्। विश्वमै सातौं र १० अग्लो हिमालसँगै दर्जनौ हिमशृंखला हुदै बग्ने खोलानदीबाट जलविद्युत उत्पादन गर्ने गरी अनुमति लिएपनि लामो समयसम्म निर्माणकार्यमा प्रवेश नगरेका धेरै आयोजना समेत म्याग्दीमै छन् ।

केही वर्षअगाडिसम्म लाइसेन्स होल्ड गरेर बसेका आयोजनाहरुमध्ये ठूलो लगानी सुरू भएका केही आयोजना निर्माणको अन्तिम चरणमा छन् भने केही पहुँचमार्गको तयारीमा जुटेको अवस्थामा अव म्याग्दीले जलविद्युत र उर्जा क्षेत्रमा म्याग्दीले गुणात्मक फड्को मार्ने अपेक्षा गरिएको छ । कोरोना भाइरसका कारण निर्माणाधीन आयोजनामा परेको प्रभाव विस्तारै न्यूनिकरण भइरहेको छ। विद्युत विकास विभागको पछिल्लो तथ्यांक आधार मान्दा म्याग्दीमा १० हजार क्षमताभन्दा धेरै विद्युत उत्पादनको सम्भावना रहेकोमा करिब २ हजार मेगावाट बिजुली उत्पादनको अनुमतिपत्र लिइसकेका छन्। विद्युत सर्वेक्षण अनुमतिपत्र लिने गरी थप आयोजनाहरु तयारी अवस्थामा छन् भने केहीले अध्ययन अगाडि बढाइ सकेको अवस्था छ ।

प्रसारण लाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला तयारी अवस्थामा छ भने केही महिनामा ४२ मेगावाटको मिस्त्रीखोला समेत विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

उत्तरी क्षेत्रमा १४ मेगावाटको घारखोला, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केट, रघुगंगाको कुईनेमंगले, चिमखोलमा टुन्डी पावर कम्पनीको ३७ र ४८ मेगावाट निर्माणको चरणमा प्रवेश गरेको छ भने विद्युत प्राधिकरणको स्वामित्वमा रहेको ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्यले तिब्रता पाएको छ।

यता पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा २५ मेगावाटको म्याग्दी खोलाले दुईबर्ष अगाडी देखिनै निर्माणको चरणमा प्रवेश गरेको छ भने धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ ।

सबस्टेशनलाई बाहना बनाएर काम रोकेर बसेका आयोजनालाई समेत थप दबाब पुगेको छ। सर्वेक्षण र सम्भाव्यता अध्ययनपछि मात्र विद्युत उत्पादन अनुमतिपत्र पाउन सकिने हुनाले निर्माणधिन अवस्थामा रहेका आयोजनाले समयमै निर्माण सम्पन्न गरेमा राष्ट्रिय प्रणालीमा ठूलो मात्रामा बिजुली जोडिने सम्भावना देखिन्छ। म्याग्दीमा रन अफदि रिभर प्रकारको आयोजना नै उपयुक्त मानिन्छ ।

म्याग्दीलाई उर्जाको जिल्ला बनाउन निर्माणधिन अवस्थामा रहेका आयोजनालाई समयमै काम सम्पन्न गर्ने वातावरण बनाउन आवश्यक छ भने अनुमति पत्र लिएर मौका कुरेर बसेकाहरुलाई खवरदारी गर्नुपर्छ । जटिल भूबनावटमा निर्माण गर्नुपर्ने र ठूलो संख्यामा निर्माण सामग्री तथा कामदार आवश्यक पर्ने हुनाले समेत जनप्रतिनिधि, प्रभावित क्षेत्रका स्थानीयको समेत साथ आवश्यक छ ।

लोडसेडिङ मुक्त हुने म्याग्देलीको चाहना लगभग पूरा भएको छ भने अब समृद्धिको बाटोमा अगाडि बढ्न आफ्नै जिल्लामा बन्ने आयोजनाबाट समेत प्रयाप्त रोजगारीको अपेक्षा म्याग्देलीले गरेका छन् । म्याग्दीका सबै आयोजनाको बिजुली प्रयोग गरी अगाडि बढ्न सकेमा जिल्लाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने निश्चित जस्तै छ । बेनी साप्ताहिकबाट