पोखरा महानगरपालिका १ पुरानो टुडिँखेलमा रहको राष्ट्रिय उच्च मा.वि.का एक छात्रालाई होटलमा लगि परिक्षा दिन लगाउने तीन शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । कक्षा ११ को ऐच्छिक अग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको कारण प्रहरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १८ कास्कीकोट स्थायी घर भई हाल वडा १ बाघबजार बस्ने राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानध्यापक ४८ वर्षीय सुर्य तिवार, रुपा गाउँपालिका ४ सिद्ध घर भई पोखरा ११ फुलवारी बस्दै आएका शिक्षक ४१ वर्षिय घनश्याम रेग्मी र पोखरा महानगरपालिका वडा नं. २० भलामका ४० वर्षिय शिक्षक शिरिष कुमार बस्ताकोटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

‘जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १ पुरानो टुँडिखेल स्थित रहेको राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका शिक्षकहरुले सोही बिद्यालयमा एक छात्रालाई कक्षा ११ को ऐच्छिक अग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा उक्त छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही हुन’ भन्ने राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु हामीलाई प्राप्त भयो सोहि आधारमा हामीले पक्राउ गरेका हौँ हमालले भने ।

उनीहरु विरुद्ध २०७७ माघ २ गते जाहेरी आएको थियो ।उनीहरु विरुद्ध शिक्षा ऐन, सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइराखेको उनले जानकारी दिए ।