लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ओम अस्पतालमा निधन भएको हो । बानियाँले केही वर्ष यता मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका थिए । उनी सुगर, प्रेसरको समेत बिरामी थिए ।

स्वास्थ्यमा असहज भएपछि मंगलबार अस्पताल लगिएकोमा बुधबार बिहान ३ः३० बजे उनको निधन भएको बानियाँका भतिज राजु बानियाँले जानकारी दिए । स्याङ्जा जिल्लाको फेदीखोलामा जन्मिएका गायक बानियाँ तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थिए । उनले सयौं गीतमा स्वर दिएका छन् । ‘लडाइको लाहुरे’ उनको चर्चित एल्बम हो ।

उनका ‘जिन्दगी के छ र’, ‘मनको वेदना’, ‘पोखरा फेवाताल’ लगायतका अन्य थुप्रै लोकगीत चर्चित छन् । रोइला, सालैजो तथा भजन संग्रह समेत ल्याएका बानियाँ झरना संगीत रेकर्डिङ स्टुडियोका संचालक समेत हुन् ।बिरामी भएपछि बानियाँले माछापोखरीमा रहेको घर समेत बेचेका थिए । मिर्गौला फेल भएपछि लोकदोहोरी क्षेत्रका कलाकारहरुले पनि उनको उपचारमा सहयोग गरेका थिए ।  source: onlinekhabar